क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजस्थित सगरमाथा आँखा अस्पतालमा एक वर्षमा १हजार ३सय ४६ जनाको आँखाको सफल शल्यक्रिया गरिएको छ । जसमा एक हजार २सय १५मोतियाविन्दु विरामीको शल्यक्रियाका गरिएको छ भने एक सय ३१जना अन्य बिरामीको शल्यक्रिया गरिएको छ ।
अस्पातालको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार एक कार्यक्रम आयोजना गरि उक्त तथ्य सार्वजनिक गरिएको हो ।
अस्पतालमा पहिलो वर्षमा १४ हजार ६ सय ५ विरामीको आँखा परीक्षण गरिएको जनाइएको छ ।
राजविराजमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारको लागि जान नपरोस् भन्ने उद्देश्यका साथ एक वर्ष अगाडी अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्धक अफाक अनवरले जानकारी दिए ।
अस्पतालमा दिँदै आएको विशेषकृत सेवामा अन्तगत अकुलोप्लाष्टि, कोर्निया, मेडिकल रेटिना र जलविन्दु लगायतका सेवा रहेको जनाइएको छ ।
सप्तरी जिल्लामा आँखाको विरामीको संख्या उल्लेख रहेको तथा नियमित आँखा जाँच तथा शल्यक्रिया हुने अस्पताल हाल सम्म नरहेकोले सो क्षेत्रको नागरिकको लागि न्यूनत्तम शुल्क ८०रुपैयाँमा एम. डी. डाक्टरहरुद्वारा उत्कृष्ट आँखा उपचार सेवा लिन पाएको अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष पन्तले जानकारी दिए ।
उक्त अस्पाताला साताको सातै दिन ओ. पि. डी. तथा सर्जरीको सुविधा सञ्चालनमा रहेको अस्पातालले जनाएको छ । विरामीले फोन वा मैसजको माध्यमले समेत नाम दर्ता तथा जाँचको समय बुक गराउने सुविधा अस्पतालले प्रदान गर्दै आएको जनाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्व भरिमा प्रत्येक ८ जनामा १ जनालाई आँखाको समस्या रहेकाे छ ।
डा. पन्तले आँखाको सुरक्षाका विषयमा जीवनशैलीमा सुधारसँगै सतर्कता अपनाउन सुझाव दिएका छन् । समाजमा आँखाको समस्या, कार्य क्षेत्रमा हुने आँखाको जोखिम, उमेरका कारणले प्राकृतिक रुपमा हुने दृष्टिसम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्ने आवश्यक रहेको उनले औल्याए ।