क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेशका युवाहरूको एक समूह मधेश अध्ययन यात्रामा निस्किएका छन् । मधेशका विषयमा गहन अध्ययन गर्न सिरहाबाट चार जनाको एक समुहले आइतबार यात्रा सुरु गरेको छ ।
यात्रीहरूमा टीएमएनसीका उपाध्यक्ष आभाष गुरू, टीएमएनसीका सदस्य डा. नवीन याद, मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रका अध्यक्ष शिव यादव र कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजाद छन् ।
सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आइतबार बेलुकी वीरगञ्ज पुग्नेछन् । त्यहाँबाट सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म सप्तरी पुग्ने उनीहरूको कार्यक्रम रहेको जनाइएको छ ।
मधेश अध्ययन यात्रा अन्तर्गत पहिलो चरणमा उनीहरू मधेश प्रदेशका आठ वटा जिल्ला घुम्न लागेका हुन् । यात्राको प्रमुख उद्देश्य सहिद परिवारको राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक स्थितिबारे अध्ययन गर्ने रहेको उनीहरूले बताए ।
यससँगै उनीहरूले मुसहर समुदाय, किसान, मजदुर, श्रमिक महिला, क्रान्तिकारी युवा, बौद्धिक व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन् । यात्राका क्रममा उनीहरू होटलमा नभई स्थानीयहरुकै घरमा खाना खाने र बास बस्ने छन् ।
यसरी भ्रमण गरेर मधेशको भुइँको अवस्था बुझ्ने र त्यसपछि उनीहरूले तमाम समस्याका विषयमा सरोकारवालालाई दबाब दिने र जवाफदेही बनाउने प्रयत्न गर्नेछन् ।