क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सीके राउत र उपेन्द्र यादवलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।
राजविराज नगरपालिका -१० विरोलस्थित प्रतिष्ठान निर्माण कामको माग गर्दै अनसनमा बसेका स्थानीयहरूसँग बिहिबार त्यहाँ पुगेर कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रथम गणतन्त्रवादी नेताको नाममा थालिएको योजना कागजमै सिमित रहनु एकदमै ठीक कुरा होइन्,’ उनले भने, ‘यस प्रतिष्ठानको सुरुवातमा उपेन्द्र यादव ज्युको ठुलो भुमिका छ, त्यसैले उनलाई यसमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, जन्म दिएपछि पालन पोषण गर्नुपर्छ, यसरी लावारीस छोड्नु हुँदैन्, सीके राउत ज्यु यहाँको सासंद हुनुहुन्छ त्यसैले उनलाई पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
उक्त प्रतिष्ठान निर्माण संघीय सरकारको योजना रहेको चर्चा गर्दै उनले जनमत र जसपा सरकारमा रहेकोले पनि उनीहरुलाई पहल गर्नुपर्ने बताए ।
नेता महतोले भने, ‘यो संघीय सरकारको योजना हो, र अहिले उपेन्द्र यादव नेतृत्वको जसपा र सीके राउत नेतृत्वको जनमत दुवै पार्टी सरकारमा छ, उनीहरूलाई यसको लागि पहल गर्नुपर्छ, यो उनीहरूको दायित्व हो ।’
यसको लागि आफ्नो तर्फबाट हुन सक्ने पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।