क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ, शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता संजिबबिक्रम साहलाई डाक्नेश्वरी नगरपालिकामा बुधबार जनमत पार्टीका कार्यकर्ताले हातपात गरेको छ ।
डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेका बुझिएको छ ।
घटना सम्बन्धमा जानकारी भएसँगै नेपाल पत्रकार महासंघ सप्तरीले एक्सन लिएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी उपर कारवाहीको माग गरेको छ ।
‘प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद हो ।रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना गर्दछौं । यो घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको हाम्रो ठहर छ, पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं । कार्वाही नगरिए हामी आन्दोलनमा उत्रने जानकारी गराउँदछौं ।’ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।