क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम अविलम्व संचालनको माग गर्दै स्थानीय बासिन्दाहरू रिले अनसनमा बसेका छन् ।
स्थानीय राम कुमार दासको नेतृत्वमा संर्घष समिती गठन गरि गत शुक्रबारदेखि थालिएको आन्दोलन दिनानुदिन सशक्त बन्दै गइरहेको छ ।
अहिले उनीहरुको आन्दोलनमा स्थानीय राजनीतिकर्मी, मैथिली साहित्य परिषदका अध्यक्ष, स्वतन्त्र विद्यार्थी युनियन, पत्रकार महासंघ सप्तरी लगायतका विभिन्न संघसंस्थाले समेत एक्येवद्धता जनाइरहेका छन् ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मधेश प्रदेशको मन्त्री परिषदको बैठकले राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो ।
जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुल माध्यमबाट शिलान्यास गरेका थिए । तर शिलान्यासको दुई वर्ष भन्दा बढी समय वितिसक्दा पनि जग्गालाई तार जालीके घेरबेर बाहेको काम नभएको स्थानीयको भनाई छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिको कार्यालय त छ तर अध्यक्ष विहिन । समितिका अध्यक्ष डा.रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि एक वर्ष यता कार्यालयको कार्यकारी निर्देशकको पद समेत रिक्त छ ।
त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्माचारीको म्याद समेत थप गरिएको छैन् यद्यपी उनीहरु आश्वासनकै भरमा कार्यलय आउने गर्छन् ।
यस्तोमा आक्रोशित स्थानीय बासिन्दाहरुले प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका माग राख्दै आन्दोलन थालेका छन् ।