क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिले आव्हान गरेको आन्दोलनमा एक्येवद्धता जनाउँदै सप्तरीको राजविराज नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनमा एक्यवद्धता जनाउँदै नगर स्तरीय संघर्ष समिति राजविराज नगरपालिकाले नगारपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन्।
सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा रहेका छन्।
यसअघि सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका तथा छिन्नमस्ता गाउँपालिका लगायतका पालिकाका कर्माचारीहरु आन्दोलनमा रहेका छन्।
के छ मागहरु ?
संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहेने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, विना सहमती ७५३ वटै स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तिनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनुपर्ने, स्थानिय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोष अनिवार्य व्यवस्था गर्नुपर्ने, निजामती अस्पतालबाटप्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनुपर्ने, जुनसुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनका अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुकोउचित व्यवस्था गरिनुपर्ने , अस्थायी तथा करार कर्मचारीहरुको लागि तिनै तहको विज्ञापनमा उमेर हद लागु नगर्ने, सम्पूर्ण स्थायी कर्मचारीलाई पेन्सनको व्यवस्था गनुपर्ने र विविध सेवालाई प्रशासन सेवामा गाभ्नुपर्ने उनीहरूको माग रहेको छ।