राजविराज — सिरहाको कल्याणपुर नगरपालिकामा नगरप्रमुख समर्थित र असन्तुष्ट वडाध्यक्षहरुको समूहबीच झडप भएको छ । नगर सभाको विषयलाई लिएर नगरप्रमुख रामपुकार साह र असन्तुष्ट वडाध्यक्षहरुबीच बिहीबार दिउँसोदेखि नै झडप भएको हो । दुई पक्षबीच केही दिनदेखि विवाद चलिरहेको छ ।
सो क्रममा असन्तुष्ट समूहले बिहीबार विरोधको कार्यक्रम गरिरहँदा नगरप्रमुख रामपुकार साहका समर्थकहरु पनि पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । असन्तुष्ट समूहले हानेको ढुंगा लागेर नगरपालिका कार्यालयको सिसाहरु फुटेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
सिरहा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीबाट २१ राउन्ड अश्रुग्यास प्रहार भएको छ भने पाँच राउन्ड हवाई फायर भएको छ । सशस्त्र प्रहरीले पनि १५ राउन्ड अश्रुग्यास प्रहार गरेको डीएसपी पाण्डेले बताए ।
साँझ ७ बजेपछि स्थिति नियन्त्रणमा लिइएको डीएसपी पाण्डेले जानकारी दिए । सो क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।- इ कान्तिपुर