क्रान्ति केन्द्र सम्वाददाता
मिथिला साहित्य कला प्रतिष्ठान(मिलाफ)ले जितिया पर्वकाे अवसरमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
बुधवार राजविराजमा जितिया पर्वकाे अवसरमा आयोजना गरेकाे उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै मेमाे खबर अनलाईनका सम्पादक पत्रकारलाई चन्दन कुमार यादवलाई सम्मान गरिएको छ ।
मिलाफका अध्यक्ष रमिला साह र मैथली अभियानी करूणा झाले संयुक्त रूपमा पत्रकार यादवलाई दोस्सला ओढाएर सम्मान गरेकी थिइन् ।
उक्त अवसरमा मैथली अभियानी करूणा झाले जितिया पर्व मिथिलान्चलकाे लाेक पर्वकाे रूपमा रहेकाेले सन्तानको दीर्घायु तथा सुख समृद्धिका पर्वको विशेष महत्त्व रहेकाे बताईन।
संचारकर्मी चन्दन यादवले जितिया पर्वकाे अवसरमा महिला, दिदी, बहिनीहरूलाई शुभकामना दिँदै मैथिल संस्कृति पर्व मध्येको एउटा मुख्य पर्व जितिया रहेकाेले सन्तानको सुखशान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना दिए।
उक्त अवसरमा महिलाहरूले मिथिलानी महिलाहरूले नाच गान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गर्दे जितिया पर्व मनाएका छन् ।
उक्त अवसरमा मैथली लाेक गायक कंचन झाले जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको बताईन।
मिलाफका अध्यक्ष रमिला साहकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा कंचन झा, ललिता झा, प्रतिमा देव लगायतले महिलाहरूले जितिया पर्वकाे लाेकगित, नाचगान गरेर मनाईएकाे छ।
तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती मिथिलानीले जितियाको चर्चा र तयारी थालेका हुन् ।
पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दु परम्परा छ ।
कृष्णपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।
यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सर्स्युकाे तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।
सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ ।
शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ ।
सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् ।
जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार व्रत बस्ने गरिन्छ। नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।
यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ । सन्तानको दीर्घायु तथा सुख समृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्त्व छ ।
ठूलो दुर्घटना वा कुनै विपद्बाट जोगिएपछि यहाँ उखान नै छ- तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिइन्; त्यसैले तिम्रो ज्यान जोगियो ।















