क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका- २ मोहनपुरबाट आइतबार करिब ८ लाख रुपैयाँ बराबरको अवैध वाकीटकी बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताबाट खटेको टोलीले भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ टाउको बोकी वाकीटकी रहेको कार्टुन ल्याउँदै गरेको व्यक्ति फरार भएको थियो । वाकीटकी कुन प्रयोजनको लागि ल्याइरहेको थियो भने खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले जनाएको छ ।
त्यस्तै सप्तरीकै बलानविहुल गाउँपालिका- ४ बेल्ही स्थित सीमा क्षेत्रबाट अवैध रुपमा ल्याउँदै गरेको करिब २ लाख २५ हजार रुपैयाँ बराबरको एक थान प्रिन्टर मेसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसिन सहितको मोटरसाइकल बीओपी बेल्हीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरीले डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर नहरस्थित कटैयाबाट कागजपत्र र नम्बर प्लेट नभएको एक भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
बरामद समानहरु आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।