क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता आवास कार्यक्रम अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका-५मा अधुरो रहेको घरको निर्माण सम्पन्न गराउन पालिका अध्यक्ष विद्यानन्द चौधरीले सक्रियता देखाएका छन् ।
उनले शहरी विकास तथा भवन कार्यालयसँग समन्वय गरेर उनीहरूको ठप्प रहेको घरको काम पुरा गराउन आफु लागिपरेको बताएका छन् ।
‘घरको अवस्थाको बिषयमा शहरी विकास तथा भवन कार्यालयले पालिकासँग कुनै समन्वय गरेको छैन्, घरहरू अधुरो रहेको जानकारी कतैबाट मलाई आएको थिएन्’ उनले भने, ‘जानाकारी भएसँगै यस विषयमा समस्या के हो बुझ्न लागेका छौं, भोलि कार्यालयमा गएर हाकिमलाई भेटेर के कसरी हुन्छ गर्छौं, उनीहरूको घर निर्माण पुरा गराउँछौं ।’
जनता आवास कार्यक्रम अन्तर्गत २०७४ सालमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५मा १२ वटा बिपन्न परिवारको लागि घर निर्माण थालिएको थियो । शहरी विकास तथा भवन कार्यालय, राजविराज र लाभग्राहीमध्येबाटै गठन गरिएको निर्माण समिति बिच भएको सम्झौता अनुसार अषाढ २६ गते उक्त कार्यको सुरुवात गरिएको थियो । यद्यपी निर्माण कार्य थालिएको ६ वर्ष बितिसक्दासमेत ती घरहरूको निर्माण सम्पन्न हुन सकेको छैन् ।
शहरी विकास तथा भवन कार्यालय राजविराजको तथ्याङ्क अनुसार १२ वटा मध्ये मात्र ४ वटा घरको निर्माण पुरा भएको छ । बाँकी ८ वटा मध्ये ५ वटमा डिपीसीसम्मको निर्माण पुरा भएको छ भन्ने एक वटामा डिपिसीसम्म जोडाई भएको छ । बाँकी दुईवटा घरको निर्माण कार्य सुरु समेत भएको छैन् ।
२०७८ जेठ मसान्तयता उक्त घरहरुको निर्माण कार्य ठप्प नै रहेको छ । कार्यक्रममा प्रति घरको बजेट २ लाख ५ हजार २ सय ३७ पैसा तोकिएको छ जसमा उक्त रकमको १० प्रतिशत लाभग्राहीले व्यहोर्नु पर्ने हुन्छ । कार्यलयले निर्माण प्रगतिको आधारमा भुक्तानी गर्ने कानुनी प्रावधान रहेको जनाएको छ । कार्यलयको अनुसार निर्माण प्रगतिको आधारमा ०७८ जेठ मसान्तसम्म १२ लाख ३ हजार २ सय ३६ रुपैयाँ निर्माण समितिलाई भुक्तानी गरिएको छ । त्यसयता कार्यालयले पटकपटक निर्माण समितिलाई काम गर्न ताकेता गरेपनि समितिले काम गर्न ढिलासुस्ती गरेको जनाएको छ ।
यता निर्माण समितिका संयोजक राजेन्द्र खंगले लगानीकै आभावमा काम सुरु हुन नसकेको बताउँछन् । ‘लगानी लगाउन सक्ने कसैको आर्थिक अवस्था नै छैन्, ऋण लिएर जसोतसो चारवटा घर पुरा गरे,’ उनले भने, ‘त्यसपछि कोरोना आयो, अहिले गिट्टी, बालुवा छड सबै थोक महंगो भइसकेको छ, कार्यक्रमको बजेट पनि एकदमै कम छ, यतिमा के हुन्छ, थप बजेट कतैबाट आए मात्र बस्न सक्ने खाले घर बन्न सक्छ।’