प्रवेश मिश्र
राजविराज । गत स्थानीय तह निर्वाचनको डेढ बर्ष नबित्दै १८ वटा पालिका रहेको सप्तरीमा चार पालिका कार्यवाहक प्रमुखको भरमा चलिरहेको छ ।
सप्तरी जिल्लाको राजविराज, शम्भुनाथ र बोदेबरसाईन नगरपालिका तथा बिष्णुपुर गाउँपालिका कार्यवाहक प्रमुखको भरमा चलिरहेको छ ।
पालिका प्रमुखउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनीहरू निलम्बनमा परेका छन् । प्रमुख निलम्बित भएपछि पालिकाको नेतृत्व उपप्रमुखले कार्यवाहक प्रमुखको रूपमा गरिरहेका छन् ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर भएपछि शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ता निलम्बित रहेका छन् । त्यस्तै विष्णुपुर गाउँपालिका प्रमुखउपर पनि उपभोक्ता समितिसँग घुस लिने काममा संलग्न रहेको आरोप छ ।
दोस्रो कार्यकालको लागि निर्वाचित सप्तरीका बोदेबरसाईन नगरपालिका प्रमुख आतेश सिंह यादव भन्ने गत कार्यकालमै कार्यक्रमनै नगरि रकम भुक्तानी दिएको काममा संलग्न रहेको अख्तियारको ठहर छ । यी तीन जनाको मुद्दा भने विशेष अदालतमा चलिरहेको छ ।
राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवको खण्डमा भन्ने विशेष अदालतको फैसला आइसकेको छ । आर्थिक वर्ष २०७३/०७४मा राजविराजको रंगशाला स्तरोन्नतीको काममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ठेकेदार कम्पनी न्यु गहिल कन्सट्रक्सनका तत्कालीन संचालक भिमराज यादवउपर मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले उनलाई आशिंक रुपमा दोषी ठहर गरेको छ ।
उनका प्रतिस्पर्धी राजनीतिकर्मीहरु भन्ने राजिनामाको ताकमा रहेको छ । उनले प्रमुखबाट राजिनामा दिए राजविराजमा नगरप्रमुख पदको लागि उपनिर्वाचन हुनेछ । यद्यपी विशेष अदालतले दोषी ठहर गरेपनि उनीसँग भन्ने सर्वोच्च अदालत जाने बाटो खुला रहेको छ ।
कार्यवाहकको भरमा पालिका चल्दा पालिकाको कामकाज प्रभावित हुने गरेको राजनीतिक जानकार बताउँछन् । पालिकामा प्रमुख र उपप्रमुखको आ-आफ्नै काम रहेकोले उपप्रमुखले प्रमुखको जिम्मेवारी सम्हालिरहँदा निश्चित रुपमा दुवैको काममा असर पर्ने राजनीतिक जानकारको भनाई छ । –क्रान्ति केन्द्र दैनिक पत्रिका