क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । बाल विवाह निर्मुलनको लागि सप्तरीको खडक नगरपालिकाले बाल विवाहविरुद्धको बृहत अभियान संचालन गरेको छ ।
नगरपालिकाले आइतबार एक कार्यक्रम गर्दै सबै वडामा एकैसाथ बाल विवाहविरुद्धको अभियान प्रारम्भ गरेको हो । बिहान ११ बजेको समयमा नगरपालिकाको ११ वटै वडाका ११ हजार बासिन्दाको सहभागितामा अभियान शुरु गरिएको जनाइएको छ ।
बालविवाह नगर्ने र नगर्न दिने नाराका साथ अभियान प्रारम्भ भएको अवसरमा बिभिन्न वडामा विभिन्न कार्यक्रमहरु गरिएको हो ।
सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा नगरपालिकाले आयोजना गरेको उक्त अभियानको उद्घाटन समारोहमा प्रमुख अतिथि मधेश प्रदेश सदस्य माला कर्ण, नगर प्रमुख जय प्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, सबल नेपालकी अध्यक्ष, सेभ द चिल्ड्रेनका प्रतिनिधि लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखे ।