क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले बलान विहुल गाउँपालिका-१ बाट ३ हजार पाँच सय २५ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको हो ।
बरामद भएको लागूऔषधमा डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुल र वुप्रेन १ हजार सय ७५ एम्पुल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सीमा क्षेत्रबाट राजमार्गतर्फ आइरहेका स १ ह ३६८६ नम्बरको अटोलाई रोकी जाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा तीनवटा प्लास्टिकको झोलामा उक्त परिमाणमा लागूऔषध फेला परेको हो ।
प्रहरीले लागूऔषधसहित अटो चालक राजेन्द्र राम र अटोमा चामल बोरा राख्ने हरिहर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानको काम अगाडी बढाईएको छ ।