क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । बाँकेको नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ परेका छन् । दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत खगेन्द्र सापकोटालाई उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलमा चेकजाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जबाट काठमाडौं जाँदै थिए ।
जिल्ला प्रहरी कार्यालयमा उनलाई स्रोत खुलाउन समय दिएपनि रकमको स्रोत खुलाउन नसकेपछि सापकोटालाई आवश्यक कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको जनाइएको छ ।