क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले शहिदको बलिदानलाई सत्तामा पुग्ने माध्यम मात्र बनाइएको टिप्पणी गरेका छन् ।
तेस्रो मधेश आन्दोलनका शहिद रामकृष्ण राउतको स्मृतिमा शनिबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा आयोजना गरिएको शहिद रामकृष्ण राउत स्मृति एवम छात्रवृत्ति कार्यक्रममा उनले अधिकारको लडाईमा ज्यान दिएका मधेशी शहिदसँग विभेद गरिएको बताउँदै त्यसको परिवर्तनमा लागेको बताए ।
उनले शहिद प्रतिष्ठानलाई अगाडि बढाउने काम गर्ने बाचा समेत गरे ।
कार्यक्रममा गत एसईई परिक्षामा स्थानीय विद्यालय मध्येमा उत्कृष्ट एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो ।
शहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठानको अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मधेश प्रदेशका सदस्यद्वय सतिश सिंह, सकिल अलि, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, जसपाका सप्तरी जिल्ला उपाध्यक्ष निलेश झा लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष धर्मापाल राउतले व्यक्त गरेका थिए ।