क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा अख्तियारले उनीसहित पालिका लेखापाल र एमआईएस अपरेटरविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गत साउन ३१ गते अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट घुसबापत २ लाख नगद र ३ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्ष पनि मिलेमतो देखिएकाले उनी तीनै जना उपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।















