क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा जनमत पार्टीसँग धेरै हिसाबले सम्वादमा रहेको बताएका छन् ।
शनिबार मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न राजविराज आएका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘जनमत एउटा नयाँ राजनीतिक दल हो र नयाँ नयाँ बिच प्रतिस्पर्धा गर्नु भन्दा एक अर्कालाई सघाएर जाँदा राम्रो हुन्छ, अहिले नयाँ दलसँग सद्भावको रुपमा होस् वा सहकार्यको रुपमा कुनै न कुनै विन्दुबाट अगाडि बढ्नुपर्छ,’ लामिछानेले भने, ‘ जनमत पार्टीसँग धेरै हिसाबले सम्वादमा छौं, नयाँ राजनीतिक दल भएको हुनाले संवाद र सहकार्यको परिणाम पनि होस्,जनमत पार्टीसँग हाम्रो सद्भाव भएको हुनाले ।’
पुर्व गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपा संघीयता विरोधी नरहेको बताएका छन् ।
उनले भने, ‘हामी वर्तमान व्यवस्था विरोधी होइनौं, तर प्रादेशिक संरचनाले व्यवस्थालाई सपार्न सघायो कि सघाएन , आम नागरिक व्यवस्थासंग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी छ ।’
उनले बिग्राने काममा व्यवस्था जिम्मेवार रहेको भन्न मिल्दैन यद्यपी सपार्ने काम कतिको गर्यो भन्ने मुल्याकंन गर्नु जरुरी रहेको बताए । -क्रान्ति केन्द्र पत्रिका