क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको चौथौ पालिका प्रमुख पनि निलम्बनमा परेका छन् । बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आरोपपत्र दायर गरेसँग उनी निलम्बनमा परेका छन् । नगरप्रमुखको दोस्रो कार्यकालको लागि निर्वाचित हुने उनी सप्तरीको एक मात्र प्रमुख हुन् ।
अख्तियारले नगरपालिका प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना उपर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष ०७७/७८मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं. ६ फुलकाहीमा कार्यक्रम संचालन नैनगरि झुट्टा बिल बनाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
नगरपालिकाका पशु विकास अधिकृत (अधिकृत छैटौं) तथा उक्त कार्यक्रमका संयोजक अर्जुन प्रसाद यादव, बोदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मंडल, बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत र उक्त बजेट भुक्तानी दिइएको माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माउपर कैदीजरिवाना मागदावीसहित विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
सिंह निलम्बनमा पर्ने सप्तरीका चौथो पालिका प्रमुख हुन् । यसअघि जिल्लाको राजविराज र शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर गाउँपालिका अख्तियारको कारबाहीले निलम्बित रहेका छन् ।