क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० किलो चाँदीसहित सिन्धुली प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।
०१–०२५ च १०६९ नं को निजी कारको पछाडि सिटमुनि लुकाएर लैजाँदै गरेको २० किलो चाँदीसहित विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका महोत्तरीका ३७ वर्षीय शेचन मानन्धलाई बीपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ५ को गढी प्रहरी चौकीले पक्राउ गरेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।
चारवटा पोका बनाएर लुकाइ ल्याइएको चाँदी हालको मूल्य अनुसार २४ लाख ६१ बराबरको छ । चाँदीको स्रोत फेला नपरेपछि आवश्यक कारबाहीका लागि सवारी साधनसहित नियन्त्रणमा लिइएको एसपी सिलवालले बताए ।
अवैध रुपमा भित्रिएको चाँदी किनेर बिक्रीको लागि लगेको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ । नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।