क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किएको छ । निरन्तरको वर्षासँगै शुक्रवार नदीमा आएको बाढीले बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा सो टोलका एक सय भन्दा बढी घर डुवानमा परेको छ । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा स्थानीयको जनजीवन कष्टकर भएको एक जना स्थानीयले जानकारी दिए ।
उनले ठोस रुपमा बाँध निर्माण नहुँदा बाँध भत्किएको बताए । त्यस क्षेत्रका जनतालाई वर्षेनी बाढीको समस्याले पिरोलने गरेपनि ठोस बाँध निर्माण गराउनेतर्फ सरोकारबालाको ध्यान नपुगेको गुनासो गरे ।
स्थानीय बासिन्दहरुले दिर्घकालिन समाधानका लागि पहल गरिदिनु हुन सरोकारवालालाई आग्रह गरेका छन् ।
बाँध भत्किएको ठाउँको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितका टोलीले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए ।
टोलीमा उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, जलश्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख रमणकुमार साह लगायतको उपस्थिती थियो ।