क्रान्ति केन्द्र सम्वाददाता
वीरगञ्ज हेटौंडा सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस बिहिबार(आज) राति दुर्घटना भएको छ । दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३९००१ ख ७९९४ नम्बरको बस राति करिब १ः०० बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको थियो । दुर्घटना पछि बसका चालक फरार रहेका छन् ।