क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै सप्तरीका पत्रकारहरुले आन्दोलन जारी राखेको छ । पत्रकार महासंघ सप्तरीको अगुवाईमा सोमबार (पाँचौ दिन) उनीहरूले निर्धारित कार्यक्रम अनुसार राजविराज नगरपरिक्रमा गर्दै जुलुस प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सुचना जारी गरेको थियो ।
त्यसपछि पत्रकार महासंघले प्रेस स्वतन्त्रताको हनन् गर्ने कार्य भएको भन्दै तीन घण्टाभित्र उक्त सुचना फिर्ता लिन भनेको थियो । तोकिएको समयमा सुचना फिर्ता नलिएपछि क्षमायाचना सहित सुचना फिर्ता गरि प्रेस स्वतन्त्रता कायम गर्ने मागसहित उनीहरू बिहिबारदेखि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलसँग भएको कुटपिट घटनमा संलग्न प्रहरीलाई कारबाहीको माग समेत राखेका छन् ।
बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको जनाए । तर यता पत्रकार महासंघले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चिता नभएसम्म संघर्षरत रहने जनाएका छन् ।