क्रान्ति केन्द्र सम्वाददाता
चर्चित नेता शिवचन्द्र कुशवाहाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई राजनीतिक ज्ञान नभएको टिप्पणी गरेका छन् ।
शनिबार राजविराजमा जनजागरण अभियानको सुरुवात गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै कुसवाहाले सीके राउत राजनीतिक जानकारी राख्ने व्यक्ति नरहेको बताए ।
गत प्रतिनिधि सभाको उपनिर्वाचनमा जनमत पार्टीबाट बारमा उम्मेदवार बनेका उनी सीके राउतकै कारण आफु पराजित भएको बताए ।
उपनिर्वाचनको समयमा माओवादी केन्द्र त्यागेर जनमत पार्टीबाट चुनाव लडेका उनलाई जनमत पार्टीले केही दिनअघि पार्टीबाट निष्कासन गरेको छ । उनले पार्टीबाट निस्कासन गर्नुको कारण सीके राउतको डर रहेको बताए । पार्टीमा आफुभन्दा बढी चहैता हुने भन्ने आत्तिएर आफुलाई पार्टीबाट निस्कासन गरिएको हो ।
माओवादी केन्द्र त्यागेर जनमतमा गएका उनले पार्टीमा सम्मान नभएकोले कसैको दास नबनी माओवादी त्याग गरेको बताए ।
त्यस्तै उनले कार्यक्रममा बोल्दै पत्रकारहरुसँग भइरहेको घटनाहरुको बिषयमा पनि चिन्ता व्यक्त गरे । उनले भने, ‘पत्रकार जसले सुचना सम्प्रेषण गर्ने काम गर्छ उनीहरूसँग यहाँ अन्याय भइरहँदा राज्य कानमा तेल लिएर सुतेको छ, यहाँ आमजनताको के हुन्छ ?’
मधेशी पत्रकार समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए ।