क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्ला प्रशासन कार्यालयले पत्रकारलाई रिपोर्टिङ गर्न रोक लगाउन प्रेस स्वतन्त्रता विरुद्धको ठाडो हस्तक्षेप रहेको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार पत्रकारलाई समाचार संकलनमा रोक लगाएको घट्नाप्रति महासंघले प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।
‘जनमत पार्टीको तर्फबाट नेताहरु ज्ञापन बुझाउन प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जाँदा त्यसको रिपोर्टिङ गर्न गएका पत्रकार बृजमान तामांगसहितकालाई सुरक्षाकर्मीले भित्र जान नदिएको जानकारी हामीलाई प्राप्त भएको छ’ जारी बिज्ञाप्तीमा उल्लेख छ ।
पत्रकार तामांगले सुरक्षाकर्मीले आफूहरुलाई रोकेको जानकारी तत्कालै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई गराएपनि भित्र छिर्न नदिएको बताएका छन् ।
‘रिपोर्टिङका लागि खटिनु पत्रकारको दायित्व हो । यसमा अवरोध सृजना गर्नु प्रेस स्वतन्त्रताबिरुद्धको ठाडो हस्तक्षेप हो । मुलुकमा संघीय गणतन्त्र आइसकेको अवस्थामा पनि पंचायतकालिन शैलीमा प्रहरी, प्रशासनले व्यबहार देखाउनु र पत्रकारलाई आफ्नो काम गर्नबाट रोक्नु खेदजनक कार्य हो । हामी यसको भत्र्सना गर्दछौं, ‘ उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘आगामी दिनमा प्रेस स्वतन्त्रताबिरुद्धका कुनै पनि काम नगर्न प्रहरी प्रशासनलाई सचेत गराउँदछौं ।’
यस किसिमको काम पुनः दोहोरिएमा नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने जारी बिज्ञाप्ती मार्फत जानकारी समेत गराएको छ ।