श्रवण वत्स
राजबिराज । सप्तरीमा गाई चौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य मंगलबार देखी सुरु भएको छ ।
मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजको अगुवाईमा लम्पी स्किन रोग बिरोधको खोप कार्य सुरु भएको हो ।
सप्तरी जिल्लाको १८ वटै स्थानीय तहलाई लम्पी स्किन रोगको खोप वितरण भईसकेको केही स्थानियहरुमा रोग बिरोधको खोप कार्यसमेत सुरु भईसकेको भेटरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र राजबिराजका प्रमुख प्रभात झाले बताए ।
मधेश प्रदेस भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र प्रदेश कृषी सचिव नम्रता सिंहको विशेष पहलमा प्रदेशबाट ८ हजार खोप उपलब्ध भएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख झाले बताए । उनले नेपालमा प्रदेशबाट खोप उपलब्ध भएको पहिलो जिल्ला सप्तरी नै रहेको बताए ।
किसानहरुको गाई वस्तुलाई लम्पी स्किन रोगविरुद्धको खोप अपुग भएको अवस्थामा सम्बन्धित पालिकाहरुबाट समेत व्यवस्था गराउन आवश्यक रहेको उनले बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख झाको अगुवाई र छिन्नमस्ता गाउँपालिका–३ वडा अध्यक्ष र सोही पालिकाका पशु शाखा प्रमुख चन्द्र नारायण पण्डित लगायको उपस्थितिमा छिन्नमस्ता गाउँपालिका–३ सखडा, गोविन्दपुरमा खोप कार्य प्रारम्भ भएको झाले बताए ।
अहिले सप्तरीमा लम्पी स्किन रोगबाट १० हजार भन्दा बढी गाई चौपायाहरु प्रभावित रहेको र २ सय भन्दा बढी मृत्यु भएको उनले बताए ।