प्रवेश मिश्र
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले विद्यालय कर्मचारी तथा बालविकास शिक्षकलाई दिँदै आएको तलब रोकिदिँदा आन्दोलित बनेका उनीहरूले आन्दोलन स्थगित गरेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका कार्यालय अगाडि सोमबारदेखि धर्नामा रहेका उनीहरूले मंगलबार नगरपालिकाले अगामी नगरसभामा माग सम्बोधन गर्ने बताएपछि आन्दोलन स्थगित गरेका हुन् ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरे ।
यसअघि विद्यालय कर्मचारीहरुले संघीय अनुदान तर्फ ८ हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १५००० र बालविकास शिक्षकहरूले संघीय अनुदानबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १७ हजार पाइरहेका थिए । तर आर्थिक वर्ष २०७९/०८० को तेस्रो र चौथो त्रैमासिक तलवमा उनीहरूले स्थानीय तहबाट दिँदै आएको तलब नपाउँदा मौखिक, लिखित तथा ज्ञापन पत्रको माध्यमबाट समेत नगरपालिका समक्ष माग गरिरहेका थिए ।
पछि पटक पटक भन्दा पनि नगरपालिकाले मागको वेवास्ता गरेपछि उनीहरू आन्दोलनमा उत्रेका थिए ।
के छ नगरपालिकाको विज्ञप्तिमा ?
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यस नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुबाट नगरपालिका कार्यालय परिसरमा बसेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको छलफल सम्बन्धमा यो विज्ञप्ती जारी गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई संघीय सरकारबाट विद्यालय कर्मचारीको लागि क्रमशः रु.८,०००/- रु. १०,०००/- प्राप्त हुने गरेको र नगरपालिकावाट विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई क्रमशः रु. ७०००/- र ७,०००/- थप गरी तलव सुविधा प्रदान गरिदै आएको छ ।
आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकामा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान प्राप्त भएको र यस नगरपालिकाबाट विनियोजन हुने रकम समेत विनियोजन भएको तर केहि प्राविधिक त्रुटीवश अपुग वजेट विनियोजित भएको थियो ।
संघीय सरकारवाट प्राप्त भएको सशर्त अनुदानको रकम विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई असार मसान्तसम्मको रकम र नगरपालिकाबाट विनियोजित भएको रकम समेत प्रथम र दोश्रो त्रैमासिक किस्ता सम्बन्धित विद्यालयमा निकासा भईसकेको छ ।
अपुग बजेटको सम्बोधन तथा बजेट विनियोजन गर्न नगरसभाबाट पारित गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ । यस नगरपालिकाको हालसम्म पनि विशेष नगरसभा तथा असार १० गते हुनु पर्ने नगरसभा समेत हुन नसकेको अवस्था सर्वविदितै छ ।
विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले माग गर्नु भएको विषय जायज रहेको र आ.व. २०७९/८० को तेश्रो र चौथो त्रैमासिकको छूट भएको तलब सुविधा वापतको रकम आगामी हुने नगरसभामा समावेश गरी तलब सुविधा प्रदान गर्न तत्पर रहेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु र आजैदेखि धर्ना / आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुहुन समेत अनुरोध गर्दछु ।’