क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले विद्यालय कर्मचारी तथा बालविकास शिक्षकलाई दिँदै आएको तलब रोकिदिँदा उनीहरू आन्दोलित बनेका छन् ।
उनीहरूले हनुमाननगर कंकालिनी नगरपालिकाका कार्यालय प्रमुखलाई एक ज्ञापन पत्र बुझाउँदै नदिएको तलब साउन ७ गते आइतबारसम्म उपलब्ध गराउन समय दिएका थिए । तोकिएको समयभित्र तलब नदिए ८ गतेदेखि कार्यलय परिसरमा धर्ना दिने तथा मुल गेटमा तालाबन्दी गर्ने चेतावनी दिएका थिए । उनीहरूको माग सम्बोधन नहुँदा सोमबारदेखि उनीहरू आन्दोलनमा उत्रिने भएका छन् ।
यसअघि विद्यालय कर्मचारीहरुले संघीय अनुदान तर्फ ८ हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १५ हजार र बालविकास शिक्षकहरूले संघीय अनुदानबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १७ हजार पाइरहेका थिए । तर आर्थिक वर्ष २०७९/०८० को तेस्रो र चौथो त्रैमासिक तलवमा उनीहरूले संघीय अनुदानबाट प्राप्त हुने तलब मात्र पाएको र स्थानीय तहबाट दिँदै आएको तलब नदिएको बताएका छन् ।
उनीहरूले पटक पटक मौखिक, लिखित तथा ज्ञापन पत्रको माध्यमबाट समेत जानकारी गराउँदै आएपनि वास्ता नगर्दा आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।