प्रवेश मिश्र
राजविराज । भवन निर्माण कामको भुक्तानी दिन घुस मागिरहेको सुचनाको आधारमा अख्तियारले बिहिबार राजविराजस्थित सामजिक विकास इकाई, सप्तरीमा छापामारी गरेको छ । अख्तियारको टोली आएको सुचना पाएर कार्यालयका सबै कर्मचारीहरु फरार भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले उक्त कार्यलयको पुर्वी पट्टीको गल्लीमा फालिएको अवस्थामा नगद र चेक फेला पारेको छ ।
घुस लिएको इकाईका कर्मचारी सव ईन्जिनियर अजय कुमार साफीले पर्खाल नाघि भाग्ने क्रममा उक्त रकम र चेक फालेेको बुझिएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका -१स्थित जनता आधारभूत विद्यालयको चार कोठे अधुरो भवनको निर्माण काम सम्पन्न भएपनि भुक्तानी दिन कमिसन मागि रहँदा आयोगमा उजुरी गरेको उपभोक्ता समितिका एक जनाले जनाएको छ । घुस वापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उनले बताए । उनले भने, ‘जम्मा ९ लाखको काम थियो, त्यसको १० प्रतिशत कमिसन मागिरहेको थियो, पछि यतिमा कुरा भएको थियो, अनि मैले अख्तियारमा जानकारी गराएँ ।’
यस विषयमा बुझ्न खोज्दा कार्यालयका प्रमुख दुनियालाल यादवसँग सम्पर्क हुन सकेन् ।