प्रवेश मिश्र
राजविराज । सप्तरीको राजविराजस्थित विद्युत प्राधिकरण कार्यालयबाट वितरण हुने बिजुली पटक पटक काटिँदा स्थानीय बासिन्दाहरु हैरान बनेका छन् । राजविराज तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुले बिजुली कटिरहँदा भइरहेको पीडा विभिन्न माध्यमबाट पोखिरहेका छन् ।
उनीहरूले समाजिक संजाल मार्फत समेत आफ्ना समस्या बताउँदै पहलका लागि सरोकारवालासँग आग्रह गरिरहेको देखिन्छन् ।
‘दिनमा सयौं चौटी लाइन् काटिन्छ, यस्तो गर्मीमा त मर्ने तुल्य बनाइदिन्छ,’ एक जना स्थानीयले भने, ‘कहिलेकाँही काटिँदा त समस्या भएको बुझिन्थ्यो, सधैंको यही रवैया हो, सरोकारवालाको ध्यान जाओस् ।’
पटक पटक बिजुली काटिँदा आफुलाई हुने समस्या एकजना मिल चलाउने व्यवसायीले सुनाए । ‘मिल चलिरहेको हुन्छ बिचमै लाईन काटिन्छ, यसले त कुटानी पिसानी पनि राम्रो हुँदेन्, कहिलेकाहीँ त काटिँदा घण्टोसम्म लाइन दिँदैन्,’ उनले भने, ‘बरु समय फिक्स गरेर एक/दुई चोटी काटे हुन्थ्यो, तर यस्तो गर्नु बन्द हुनुपर्छ ।’ उनले यो समस्या कहिलेकाहीँ मात्र नभई दैनिकी भोग्नुपरिरहेको सुनाए ।
यस समस्याबारे राजविराज बस्ने पत्रकार जितेन्द्र झा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै आफ्ना फेसबुक वालमा लेख्छन्, ‘कुलमान जी विद्युत प्राधिकरणको राजविराज वितरण केन्द्र हजुर नेतृत्वकै केन्द्रीय कार्यालयको मातहतमा हो कि, थोरै यतातिर पनि ध्यान दिनुस, नभए राष्ट्रीय स्तरमा कमाएको प्रतिष्ठा एक्लै सप्तरीले बर्बाद पार्ने काम गरिराखेका छन्, ध्यान जाओस महासय ।’
उता राजविरज विद्युत वितरण केन्द्रका कार्यालय प्रमुख मधुसूदन यादवले कतै समस्या परेको जानकारी आए मात्र बिजुली काटिने गरेको बताए । मंगलबार उनीसँग कुराकानी गर्दा उनले भने, ‘आज तारमा आगो लागेको जानकारी आएपछि दुई चोटी लाइन काटियो, कतै समस्या भएको जानकारी आएपछि मात्र लाइन काटिन्छ, यहाँ त्यस्तो कुनै समस्या छैन् ।’