प्रवेश मिश्र
राजविराज । बर्षा भएसँगै सप्तरीका कतिपय सडकहरू पोखरी झै बन्छन् । ग्रामीण क्षेत्रको कुरा त टाढा जाओस् सदरमुकाम राजविराजको सडकको अवस्था भने फरक छैन् । राजविराजस्थित हनुमान मन्दिर देखि रुपनी मोडसम्मको करिब २०० मिटर लामो सडकमा चार ठाउँमा खाल्डो रहेको छ । जुन वर्षा भएसँगै पोखरी झैं देखिन् थाल्छ ।
उताबाट दैनिकी हजारौं गाडीको ओहोरदोहर हुन्छ । यात्रुहरुले हरपल समस्या भोग्ने गर्छन् । यद्यपी सरोकारवालाको ध्यान त्यसमा पुग्न सकेको छैन् ।
राजविराज -हुनुमाननगर सडकखण्डको अवस्था त यस भन्दा पनि जटिल छ । करिब १५ किमी दुरीको यस सडकमा ५० भन्दा बढी खाल्डोहरु छन् । यी दुई सडकको अवस्थाले गर्दा सप्तरीसहित बिभिन्न ठाउँको मान्छेलाई कष्ट भोग्नु परिरहेको छ ।
भारतसँग सिमाना जोडिएको तथा बिभिन्न पर्यटकीय स्थल सप्तरीमा भएकोले दैनिकी भारतीयहरु यहाँ आउने गर्छन् । बाटोको यस अवस्थाले गर्दा छिमेकी देशमा पनि नेपालको बेइज्जती हुने गरेको स्थानीयहरू बताउँछन् । ‘यो चल्तीमा रहेको बाटोहरु हो, दैनिक भारतबाट पनि मान्छेहरु आउँछन्,’ एक जना स्थानीयले भने ‘तर जब सडकको अवस्थाले उनीहरूलाई समस्या हुँदा देशलाई नै बेइज्जत गर्ने गरी कुराहरु भन्छन् , धेरै दुःख लाग्छ ।’
उता राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनले पटक पटक ठेकेदारहरुलाई यी कुरा भन्दा पनि अटेर गरेको बताईन् । ‘राजविराजको धेरै सडकमा खाल्डोहरु छन्, ठेकेदारहरुलाई पटक पटक भन्दा पनि सुन्दै सुन्दैनन्’, उनले भनिन् ‘सबै ठेकेदारहरुलाई बोलाएर सिडिओ साब पनि हुँदा कुरा गरेको हौं,तर एक दुई दिन काम गर्छ फेरि भागी हाल्छ, टेर्दै टेर्दैनन् ।’