क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल ट्रेड युनियन काँग्रेस शाखा सप्तरीले श्रमजिविहरुको न्युनतम पारिश्रमिक २५ हजार निर्धारण गर्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
ट्रेड युनियनले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
‘नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २/२ बर्षमा त्रिपक्षिय सहमतिका आधारमा श्रमजिविहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नु पर्ने विषयमा हामी कटिबद्ध छौ । यही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षिय आधारमा न्युनतम पारिश्रमक निर्धारण गरी श्रावण देखी लागु गर्नु पर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियन बीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ ।’ शाखाका अध्यक्ष मनोज कुमार मंडलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ, ‘श्रमजिविहरुको पारिश्रमिक जीवनयापन निमित्त सहजता प्रदान गर्ने हुनु पर्दछ भन्ने कुरा उठाउदै आईरहेको र यही अडानमा अडिग छ । रोजगारदाताका साथै सरकार समेत श्रमजिविको न्युनतम पारिश्रमिकमा गम्भीर देखिदैन ।’
सरकार आफै कानुन विपरीत देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरिरहेको उनीहरूको ठहर छ । ‘सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार तोकेको अवस्थामा वर्तमान समयको कहाली लाग्दो मुल्य वृद्धि महंगीमा मासिक १५ हजारमा श्रमजिविले कसरी जीवनयापन गर्दछन भन्ने गम्भीर प्रश्न हामी माझ उठेको छ । विशेषत अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मुल्य वृद्धिको दाँजोमा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन सकिन्छ । वर्तमान समयको मुल्य वृद्धि र महंगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन काँग्रेसले मिति २०८० आषाढ ४-६ सम्म काठमाण्डौमा सम्पन्न सातौं राष्ट्रि महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्युनतम मासिक २५ हजार हुनुपर्ने निर्णय गरेको छ। यसको निमित उत्पादत्व वृद्धि कार्ययोजनामा पुर्ण सहयोग गर्न नेपाल ट्रेड युनियन काँग्रेस प्रतिवद्ध छ,’ पत्रमा उल्लेख छ ।
न्युनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण नभए श्रमजिविहरुको हकहित र अधिकार लागि कडा कदम उठाउने उनीहरूले चेतावनी समेत दिएका छन् ।