क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा समेत गाई चौपायामा लम्पी स्किन रोगको प्रभाव देखा परेको छ । लम्पी स्किन एक किसिमको गाई चौपायामा सजिलै सर्न सक्ने भाईरस रोग हो ।
देशको बिभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत गाई चौपाया मर्न लागेको हो । लम्पी स्किन रोगबाट केही दिन अगाडी छिन्नमस्ता गाउँपालिका वडा–५ लोखरमस्थित छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्ममा लम्पी स्किन रोगबाट २ वटा गाईको मृत्यु भएको फर्मको संचालिका पुनिता मिश्रले बताईन् । त्यस्तै, तिलाठी कोईलाडी गाउँपालिक–१ तिलाठी निवासी हरिदेव झाले ४० हजारमा खरिद गरि ल्याएको गाई एक हप्तामै लम्पी स्किन रोगको सिकार भएको झाले बताए ।
लम्पी स्किन रोगको प्रभाव तिलाठी कोईलाडी गाउँपालिका २५ प्रतिशत भन्दा बढी पशुमा रहेको पालिकाको पशु शाखा प्रमुख बद्री मण्डलले जानकारी दिए । ‘यो तथ्यांक केही तल माथी हुनसक्छ, तर धेरै गाई गोरुमा रोग लागेको छ,’ उनले भने ‘अहिले ग्रामीण भेगका मुख्य सिजन धान रोप्ने भएकाले धेरै व्यक्तिले त्यसबारे जानकारी समेत दिन सकेको छैन् ।’
यो सरुवा रोग भएकोले एउटामा लागेपछि अरु चौपायामा सजिलै सर्न सक्छ । रोग लागेको गाई तथा गोरुलाई छुट्टै राख्नु उनले बताएका छन् ।
गाउँपालिकाका वडा नं २ लौनियाँमा केही दिन पहिला रोगबाट ३/४ वटा गाई र गोरुको मृत्यु भएको थियो ।
रोग लागेको गाई गोरुलाई सामान्य उपचार गरे पनि निको हुन्छ । रोग प्रतिधात्मक क्षमता कम भएको गाई र गोरुलाई अलि बढी रोगको प्रभाव पर्ने गर्छन । रोग लागेको गाई र गोरुलाई एन्टीबाईटिक, ज्वरो र पैनकिलर खुवाई निको हुन्छ । एकको प्रभाव बढीमा एक साता सम्म रहिरहन्छ । रोगको भ्याक्सिन समेत पालिकामा खरिदको लागि भनेको शाखा प्रमुख मंडलले बताए ।
राजविराज पशु अस्पतालका प्रमुख प्रभात झाले सप्तरीमा लम्की रोगबाट अहिलेसम्म १५ वटा भन्दा बढी पशुको मृत्यु भएको बताए । सप्तरीमा लम्पी रोगको प्रभाव ३ देखी ५ प्रतिशतमा देखा परेको उनले बताए । सप्तरीका सप्तकोशी र डाकनेश्वरी नगरपालिकामा अलि बढी प्रभाव परेको थियो अहिले अवस्था सामान्य भएको उनले बताए । यो रोगको प्रभाव गाईमा बढी परेको छ र गाईबाट अरुमा सजिलै सर्छन । लम्पी रोग लागेको गाई गोरुलाई सुरुमा उच्च ज्वरो आउँने, खाना खान नरुचाउने कमजोरी हुने र शरीर भरि गाँठ–गाँठ जस्ता देखा पर्छन । ‘अहिले यसको भेक्सीन समेत निस्की सकेको हो,बजारमा अहिले भेक्सीन पाउँन सजिलो छैन, केही दिन भित्र सहजै उपलब्ध हुन्छ ।’