क्रान्ति केन्द्र सम्वाददाता
महालेखा नियन्त्रक कार्यालय(मलेनिका)ले चेकमा कुनै केरमेट नगरी सटहीका लागि बैंक पठाउन सबै स्थानीय तहहरुलाई शुक्रबार परिपत्र गरेको छ ।
मलेनिकाले परिपत्रमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) बाट जारी भएका चेकमा भुक्तानी प्राप्तकर्ता, मिति लगायतका विवरण हस्तलिखित रुपमा सच्याएर सटहीको लागि पठाउने गरेको र उक्त सटहि गर्ने/नगर्ने सम्बन्धमा विभिन्न बैंकहरुबाट समेत राय माग हुन आएको विषय उल्लेख गर्दै मलेनिकाले सूत्र प्रणालीबाट जारी भएका प्रिन्टेड चेकमा कुनै केरमेट नगरी सटहीका लागि बैंक पठाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
सोही पत्रमार्फत नेपाल राष्ट्र बैंकलाई जानकारी गराउँदै मलेनिकाले सरकारी कारोबार गर्ने सबै बाणिज्य बैंकहरुलाई परिपत्र बमोजिम कार्यान्वयन गर्न समेत अनुरोध गरेको छ ।
यस अघि त्यस्तो केरमेट भएको चेकहरुमा केरमेट भएको स्थानमा कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखले हस्ताक्षर गरि पठाएको अवस्थामा चेक सटही हुने गरेको स्थानीय तहको एकजना अधिकृतले बताए । तर यसपटक त्यस्तो केरमेट भएको चेक नसाटिने भएकाले खाताबालाको चेकसंग नाम भिडाइ मात्र चेक काटन सचेत हुनुपर्ने उनको भनाइ रहेको छ ।