श्रवण वत्स
राजविराज । अखण्ड शौभाग्यवति र पतिको दीर्घायुको कामना गर्दै मिथिलाञ्चलमा शुक्रबारबाट मैथिल महिलाहरुले मनाउने ‘मधुश्रावणी’ पर्व सुरु भएको छ । मधुश्रावणी सुरु भएको दिनलाई मौना पञ्चमी तथा नागपञ्चमी समेत भन्ने गरिन्छ ।
मिथिला संस्कार र परम्परा अनुसार नव–विवाहित मैथिल महिलाहरुका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्व मध्ये एक हो । १३ दिन सम्म मनाउने यो पर्व यस बर्ष श्रावण महिनाना पर्ने अधिकमास (मलेमास)ले गर्दा ४५ दिनको हुनेछ । यो पर्व नागमञ्चमीको दिनदेखी श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइने गरिन्छ ।

पर्वको एक दिन पहिले नव–विवाहित महिलाहरुको ससुराली पक्षबाट नयाँ लुगा, नाग–नागिन, चढाउँन र ब्रतालु महिलालाई खानको लागि फल–फुल, चाना, चामल गौर गढेर पठाउने गर्छन । त्यहि दिन ब्रतालु महिलाले विहानै देखी नुहाई धोईपछि लशुन प्याज, माछा, मासु नुन समेत नखाने गर्छिन । उनीहरूले आफ्ना ससुराली पक्षबाट पठाईएको फलफुल खान्छिन । त्यसदिनलाई मैथिली भाषामा नहाईखाइ भन्ने चलन छ ।
पर्व भरि हरेक दिन नव–विवाहिता महिलाहरु एकतृत भएर साँझाको समयमा आफ्ना घर–आँगन तथा गाउँभरि रहेका फुल र फुलको झाडी, दुबो, पान, बेलको पात लगायतको तोडेर ल्याउने गर्छन ।
त्यसलाई मैथिली भाषामा ‘फुल लोढब’ भन्ने गरिन्छ । बेलुकामा ल्याएको फुल त्यसको भोलिपल्ट कथा, बिनी र देवी देवता लगायत शिव पार्वतीको गीत सुनेर त्यहि फुल चढाउँने गर्छन ।
मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिव लगायत नाग–नागिनको समेत कथा सुन्ने चलन रहेको छ । मधुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसा देवीको पुजाका साथ–साथै माटोले बनाईएका नाग–नागिन र हातीका समेत पुजा गरिन्छ ।


मैथिल महिलाहरुले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव–वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसाथ मनाइन्छ । बर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन र वितरणले मानव जीवन त्रसित हुनाले नाग–नागिनको साथै शिव–पार्वतीको पूजामा केन्द्रित रही मनाउने गरिन्छ ।
नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रव्ततालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पका वंशको बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको छ ।
तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भन्छ । त्यसदिन फेरी ससुराली पक्षबाट ब्रतालु महिलाको लागि खाने देखी लिएर लगाउने लुगा समेत पठाउने गर्छन र पतिको साथै त्यसदिन फेरी विवाह हुने गर्छन ।
शिव पुराणको प्रसंगअनुसार मधुश्रावणी नामक नव–विवाहीता शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाएका थिए । भगवान शिवले उनलाई यस प्रकारको व्रत गर्न सुझाव दिएका थिए । व्रत गरेपछि उनको पति स्वस्थ्य भएका थिए । त्यसै दिनदेखी प्रत्येक बर्ष नवविवाहित महिलाहरुले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दै परम्परागत रुपमा मनाउँदै आएको बुझिन्छ ।