क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी -२बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सीके राउतले सांसदहरुले एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै अरु मधेश केन्द्रित दलको आलोचना गरेका छन् ।
१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष समेत रहेका सीके राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको टिप्पणी गरे ।
‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो’ उनले लेखेका छन्, ‘तर दुर्भाग्य… सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो ।’
उनले सिद्धान्तको राजनीति सार्है महँगो पर्ने गरेको बताएका छन् । ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ।’ उनले लेखेका छन्, ‘तैपनि ढुक्क हुनुहोस्, हामी सरकारबाट दिएको लाख प्रताडना सहन तैयार छौं तर जनमत पार्टी जनतासँग उभिरहनेछ, आफ्नो सिद्धान्तमा अडिग रहनेछ।’