क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज । सप्तरीका पालिका तथा सरकारी कार्यालयहरुमा मिडियाको नाममा जथाभावी बिल पेश गर्ने र भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर युट्युवसहितका सामाजिक सञ्जालमा प्रकाशन/प्रशारण भइरहेको कार्यप्रति पत्रकार महांसघ शाखा सप्तरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार महासंघले प्रेस बिज्ञप्ती जारी गर्दै सप्तरीको पत्रकारिता क्षेत्र इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा केहि युट्युव र अनलाइनमा काम गर्ने व्यक्तिले समग्र पत्रकारिता क्षेत्र बदनाम गराउने दुस्साहस गरेको जनाएको छ ।
‘बिल दिएर भुक्तानी माग्ने र नपाएपछि आधारहिन कुरा जोडेर भिडियो बनाउने, सामाजिक सञ्जालमा लेख्ने कार्य भइरहेको प्रमाणसहित कतिपय कार्यालयले पत्रकार महासंघलाई उपलब्ध गराएको छ । पत्रकारिता गर्दै नगर्ने, अनि भिडियो मात्रै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति ‘पत्रकार’को परिभाषाभित्र नपर्ने गरेको सबैलाई जानकारी नै छ । फेसबुक, युट्युव, टिकटक सहितका सामाजिक सञ्जाल सञ्चारमाध्यम(मिडिया) नभएको पनि सबैमा अवगत भएकै विषय हो ।’ बिज्ञप्तीमा उल्लेख छ ।
यस्ता काममा संलग्नलाई सचेत हुन आग्रह गर्दै कार्य दोहरिएको पाएमा दोषीमाथि कारबाही गराउन पत्रकार महासंघ सप्तरी शाखा अग्रसर हुने जानकारी समेत गराइएको छ ।
उता सप्तरीका पालिका तथा सरकारी कार्यालयहरुलाई महासंघले सामानुपातिक विज्ञापन प्रणाली लागु गर्न सुझाव दिएको छ ।
‘यसअघि नै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न पटक–पटक छलफल गर्दा पनि पालिका र सरकारी कार्यालयहरुकै उदासिनताले लागु हुन नसक्दा अहिलेको स्थिती उत्पन्न भएको पनि महासंघको निष्कर्ष छ,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘त्यसैले पालिका प्रमुख (जनप्रतिनिधि), पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई निकट भविष्यमा यसतर्फ गम्भिर हुन पत्रकार महासंघको सुझाव छ ।’