श्रवण वत्स
राजविराज । आईसीसी एकदिवसीय विश्वकप १३ औं संस्करणको तालिका मंगलबार मुम्बाईमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ । एक दिवसीय विश्वकप यस बर्ष भारतमा आयोजना हुन लागेको हो ।
विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म चल्ने, जसको कुल सेमीफाइनल र फाईनल गरेर ४८ वटा खेल हुनेछ । क्रिकेटको इतिहासमा यो पहिलो पटक पुरै विश्वकप भारतमा मात्रै हुनलागेको हो । यसअघि भारतले संयुक्त रूपमा सन् १९८७, १९९६ र २०११ मा एकदिवसीय क्रिकेट विश्वकप आयोजना गरेको थियो ।
विश्वकपको पूरै प्रतियोगिता ४६ दिनसम्म चल्नेछ । विश्वकप अक्टोबर ५ मा अहमदाबादमा डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड र पछिल्लो उपविजेता न्युजिल्याण्डबीचको खेलबाट सुरु हुनेछ । त्यस्तै, भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलिया विरुद्ध चेन्नईमा खेल्नेछ । विश्वकप क्रिकेटमा भारतको चिरप्रतिद्वन्द्वी पाकिस्तानबीचको खेल अक्टोबर १५ (आइतबार) अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने छ । फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने छ ।
विश्वकपमा १० टोलीले राउण्ड रोबिन लिगमा आमनेसामने गर्नेछन्, त्यसपछि सेमिफाइनल र फाइनल खेलाइनेछ, पहिलो सेमिफाइनल नोभेम्बर १५ मा वानखेडे रंगशालामा मुम्बईमा हुने र दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा कोलकाताको इडेन गार्डेनमा खेलिनेछ । यदि भारत सेमिफाइनलमा पुग्यो भने उसले आफ्नो सेमिफाइनल खेल मुम्बईमा खेल्ने छ ।
वानखेडे स्टेडियममा २०११ को विश्वकपको फाइनल आयोजना गरेको थियो । जसमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको भारतीय टोलीले श्रीलंकालाई हराएर २८ वर्षपछि एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । इडेन गार्डेनले सन् १९८७ मा अस्ट्रेलिया र इङ्ल्यान्डबीचको उपाधि खेलको आयोजना गरेको थियो जुन अष्ट्रेलियाले जितेको थियो ।