क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि ४३ करोड ३७ लाख ५० हजार रुपैयाँ बजेट ल्याएको छ । आइतबार भएको ८औं गाउँसभमा पालिका अध्यक्ष अरुण मंडलले उक्त बजेट सार्वजनिक गरेका हुन् । बजेटको चालु तर्फ २८ करोड ८३ लाख ९० हजार र पूँजिगत तर्फ १४ करोड ५३ लाख ६० हजार रहेको छ ।
गाउँपालिकाको अगामी बर्षमा हुने आम्दानी भने ४२ करोड ९७ लाख ५२ हजार रुपैयाँ मात्र रहेको छ । जुन व्यय भन्दा ३९ लाख ९८ हजार रुपैयाँ कम रहेको छ ।
आय विवरण
तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ७५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । कूल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ११ करोड १५ लाख र सशर्त अनुदानतर्फ १८ करोड ८२ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ६ लाख ७९ हजार रुपैयाँ, समपुरक अनुदान ५० लाख र विषेश अनुदान तर्फ १ करोड ५० लाख रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ८१ लाख २३ हजार, राजस्व बाँडफाँडबाट ३७ लाख ५० हजार, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुने जनाइएको छ ।
व्यय विवरण
वडाहरुको सिलिङ्ग ६१ लाख तोकिएको छ । आर्थिक विकासतर्फ कृषि, पशु विकास उद्योग र पर्यटन लगायतका विभिन्न योजनाहरुमा कुल २ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको ५ दशमलव ६ प्रतिशत हो ।
सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, महिला, दलित, जेष्ठ नागरिकको क्षमता विकास लगायतका विभिन्न योजनाहरुमा कुल २ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको ५ दशमलव २ प्रतिशत हो ।
पूर्वाधार विकासतर्फका लागि स्थानीय सडक पुल पुलेसा सिंचाई, विद्युत र संचारका लगि विभिन्न योजनाहरुमा कुल ११ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ जुन कुल बजेटको २९ प्रतिशत हो ।
वन वातावरण तथा विपद् ब्यवस्थापनतर्फका विभिन्न योजनाहरुमा कुल बजेटको ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन १ दशमलव ४ प्रतिशत हो ।
सेवा प्रवाह तथा सुशासनतर्फका विभिन्न योजनाहरुमा कुल बजेटको २५ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन ५८ दशमलव ८ प्रतिशत हो ।
के के छ नीति तथा कार्यक्रममा ?
आर्थिक वर्ष २०८०/८१का नीति तथा कार्यक्रममा तिलाठीकोइलाडी गाउँपालिकाले भनिएको छ
‘(१) आर्थिक विकास
तरकारी उत्पादनलाई थप प्रभावकारी बनाउन हिउँदे तथा बर्षे तरकारीको बिऊ बिजन किट वितरणलाई थप प्रभावकारी बनाइनेछ ।
ब्यवसायिक रुपमा पशुपालन ब्यवसाय गर्ने कृषकलाई सहकारी संस्थामार्फत ५० प्रतिशत निरब्याजी ऋण उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
कृषिलाई ब्यवसायिक तथा उत्पादनमुखी बनाउन गहुँ, धान, मकै, चाइजिन सरसौं र प्लाष्टिकको सप्रेयर ५० प्रतिशत अनुदानमा उपलब्ध गराइनेछ ।
खेतीको लागि कृषि मिटर जडान गरेका कृषकहरुलाई बर्षभरिमा लाग्ने महसुलमध्ये बढीमा एक हजार रुपैयासम्म गाउँपालिकाबाट तिर्ने ब्यवस्था मिलाइनेछ ।
कृषि विद्युतीकरणको लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
“एक स्थानीय तह एक कृषि र पशु सेवा प्राविधिक” कार्यक्रम अन्तर्गत गाउँपालिकामा कार्यरत कृषि तथा पशु प्राविधिकहरुकालागि आर्थिक बर्ष २०८०/०८१मा आधा तलब गाउँपालिकाबाट ब्यवस्थापन गरिने छ ।
पशु स्वास्थ्य उपचारका लागि घरदैलो घुम्ती सेवा प्रवाहलाई निरन्तरता दिइनेछ ।
लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिई स्वरोजगारमा वृद्धि गरिनेछ ।
युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालनलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गरिने छ ।
वैदेशिक रोजगारीलाई थप ब्यवस्थित, मर्यादित एवं भरपर्दो बनाउन गाउँपालिकाबाट आवश्यक सहजीकरण गर्ने ब्यवस्था मिलाइनेछ ।
पशुमा लाग्ने र लाग्न सक्ने रोगहरुको निराकरणको लागि भ्याक्सिनेसनको कार्यक्रम अभियानको रुपमा संचालन गरिने छ ।
सहकारी संस्थाहरुको सघन अनुगमनलाई प्राथमिकतामा राखि कृषि तथा गैरकृषि सहकारी संस्थाहरुको क्षमता विकास तथा प्रवर्धन गरी उत्पादन बढाइने छ ।
स्थानीय सहकारी नीति, कानुन प्रतिपादनका साथै मापदण्ड निर्धारण गरी नियमन समेत गरिने छ ।
(२) सामाजिक विकास
क) बालबालिका
गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन आवश्यक कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
बालविवाह विरुद्ध बालिका सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
बाल श्रममुक्त पालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
बालबालिकामा रहेको कुपोषणको अवस्थालाई सुधार गर्न बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी ढंगबाट सञ्चालन गरिनेछ । साथै विद्यालय स्वास्थ्य पोषण कार्यक्रमलाई आधारभूत तहको विद्यालयबाटै कार्यान्वयन गरिनेछ ।
आधारभूत तहका विद्यालयमा अध्ययनरत १० देखि १९ बर्षका बालिकालाई आइरन चक्की र जुकाको औषधि वितरण गरिने कार्यलाई निरन्तरता दिइनेछ ।
बालबालिकाको योजना, आवश्यकता र मागलाई सम्बोधन गर्न बालभेला कार्यक्रम सञ्चालन गरिनेछ ।
बालबालिकाको सहभागिता, क्षमता विकास, नेतृत्व विकास लगायतको क्रियाकलापमा उनीहरुको सहभागिता बढाई योजना तर्जुमा प्रक्रियामा सहभागिता सुनिश्चित गरिनेछ ।
विपद् जोखिम न्युनीकरणमा बालबालिकाको भूमिकालाई ध्यानमा राखी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने छ ।
समुदायमा आधारित वालक्लवहरुको क्षमता विकास गरी संस्थागत रुपमा सुदृढीकरण गरिने छ ।
बाल क्लबका पूर्व सदस्यहरु दक्ष सहजकर्ताको रुपमा विकास गरी परिचालन गरिने छ ।
ख) महिला तथा किशोर किशोरी
किशोरीहरुका लागि आवश्यक दौंतरी शिक्षा सञ्चालन गरिनेछ ।
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवामा पहुँचका निम्ति आवश्यक ब्यवस्था मिलाइनेछ ।
शिक्षाबाट विमुख किशोरीहरुकालागि किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
एकल महिलाहरुकालागि विभिन्न खाले सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरि स्वरोजगारकालागि अभिप्रेरित गरिनेछ ।
महिला हिंसा, लैंगिक हिंसा, दाइजो प्रथा, यौनजन्य हिंसा, घरेलु हिंसा, बालविवाह जस्ता सामाजिक कुरीतिहरुको निरुत्साहित गर्न सहयोग पुग्ने खालको कार्यक्रम तर्जुमा गरी प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
महिलाको नाममा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।
महिलाहरुको सीपमा अभिवृद्धि गरी आयआर्जनमूलक कार्यक्रममा सहभागी गराइनेछ ।
ग) शिक्षा
शिक्षामा दलित बालबालिकाको पहुच ब९ाउन तथा निरन्तरताका लागि शैक्षिक सामग्री प्रदान गरिने५ ।
उत्कृष्ठ ब्यवस्थापन र शैक्षिक नतिजा ल्याउन सफल हुने एक विद्यालय र दुई विद्यार्थीलाई पुरस्कृत गरिने छ ।
सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरु अनुशासनको पालना नगरेमा वा निज शिक्षकहरु कानुनको पालनामा अटेर गरेमा निज शिक्षकलाई एक विद्यालयबाट अर्को विद्यालयमा काज सरुवा गरिने छ ।
अवकास प्राप्त प्रधानाध्यापक, शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई सम्मान गरिनुका साथै एसईईमा पालिकाभित्रका विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिने छ ।
बालविकास केन्द्रहरुको सुदृढीकरण जोड दिइने छ । प्रारम्भिक बाल विकास केन्द्रहरुलाई नमूना बालविकास केन्द्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रम संचालन गरिने छ ।
भौतिक अवस्था कमजोर रहेका विद्यालयहरुमा कक्षाकोठा निर्माण तथा मर्मत सम्भार कार्यक्रम संचालन गरिने छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने दलित, गरिब तथा जेहेन्दार बालबालिकाका लागि आवश्यक छात्रवृत्तिको ब्यवस्था गरिने छ ।
उत्कृष्ठ नतिजा प्राप्त गर्ने तथा सिकाई उपलब्धी उच्च रहेका विद्यालय, बिषयगत शिक्षक तथा विद्यार्थीलाई अभिप्रेरित गर्न सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम संचालन गरिने छ ।
सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृदिका लागि आवश्यक तालिम संचालन गरिने छ ।
गुणस्तरीय शिक्षाकालागि बालमैत्री शिक्षण सिकाईको अवधारणालाई लागू गरिने छ ।
गाउँ क्षेत्र भित्रका माध्यमिक विद्यालयहरुको प्राथमिक तहका कक्षामा अंग्रेजी माध्यममा शिक्षण सिकाइका लागि आवश्यक बजेट विनियोजन गरी यसलाई लागु गरिनेछ ।
आधारभूत तहका विद्यालयहरुलाई पनि क्ष्ऋत् मैत्री बनाइ सामग्रीहरुको वितरण गरिनेछ।
शिक्षकको पेसागत दक्षता विकासका लागि विभिन्न तालिम, भ्रमण तथा अवलोकन कार्यक्रम राखिनेछ।
सबै सामुदायिक विद्यालयमा इ हाजिरीको व्यवस्थापन गरी शिक्षकको उपस्थिति दरमा सुधार ल्याईनेछ।
बालबालिकालाई विभिन्न दिवस तथा कार्यक्रमहरु मनाउन र प्रोत्साहन स्वरुपका कार्यक्रमहरु ल्याइनेछ।
शिक्षकहरुलाई क्ष्ऋत् तालिम दिई प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाइ कार्यलाई प्राथमिकता दिइनेछ।
पालिकाभित्रका २ सामुदायिक विद्यालयमा गणित प्रयोगशाला विकास गरिनेछ।साथै शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिने छ ।
कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्नका लागि परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिनेछ ।
थप स्वमसेवक शिक्षक मार्फत सामुदायिक विद्यालयमा शिक्षक अभावको आवश्यकता परिपूर्ती गरिनेछ र सोका लागि आवश्यक बजेट विनियोजन गरिने छ ।
बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको थप प्रोत्साहन अनुदानलाई निरन्तरता दिइनेछ।
विद्यालय अनुगमन तथा सुपरीवेक्षण कार्यलाई तिव्र रुपमा लागु गरि विद्यालयहरुलाई पृष्ठपोषण दिईनेछ ।
तह तथा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गरिनेछ।
नियमित प्रअ बैठक, शिक्षक विद्यार्थी सम्मान जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
विद्यालयहरुलाई सूचक निर्माण गरी मूल्याङकन गरी यसमा पालिकाबाट बजेट छुट्टयाई पुरस्कृत गरिनेछ ।
अंग्रेजी माध्यममा शिक्षण सिकाइका लागि शैक्षिक सामग्री व्यवस्था गरिनेछ।
विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि शिक्षक तालिम दिइनेछ।
गाउँपालिका भित्रका बालविकास केन्द्रहरुलाई नमुना बालविकास केन्द्रको रुपमा विकसित गरिनेछ।
पालिका भित्र विषय विज्ञ टोली गठन गरी यसलाई विद्यालयमा परिचालन गरी आएको पृष्ठपोषणबाट विद्यालयलाई सुधार गरिनेछ ।
घ) स्वास्थ्य
गुणस्तरीय स्वास्थ्य सेवा गाउँवासीहरुलाई सहजरुपमा पुग्ने गरी आधारभुत स्वास्थय सेवा (मातृ शिशु, परिवार स्वास्थ्य, बाल स्वास्थ्य, पोषण, बहिरंङ्ग सेवा, स्वास्थ्य शिक्षा आदि) निःशुल्क रुपमा उपलब्ध गराईने नीतिलाई निरन्तरता दिइने छ ।
सुचिकृत गुणस्तरीय निःशुल्क औषधी, उपकरण र स्वास्थ्य सामग्रीको निरन्तर आपूर्ति र उपयोगितालाई सुनिश्चित गरिनेछ ।
स्वास्थ्य क्षेत्रको व्यवस्थित तथा गुणस्तरीय विकासका लागि सार्वजनिक तथा निजि क्षेत्रको तथा अन्य संघ संस्थाहरु संगको सहकार्यलाई थप प्रबर्द्धन गरिनेछ ।
गाउँपालिका अन्तर्गत कार्यरत महिला स्वयंसेविकाहरुको उत्प्रेरना अभिबृद्धि गरिनेछ । साथै साठी बर्ष पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वेच्छाले राजीनामा दिएमा नेपाल सरकारबाट प्राप्त सुविधा बराबर थप सुविधा प्रदान गरिने छ ।
महिलाहरुको स्वास्थ्य सुधारको लागि जागरण कार्यक्रम संचालन गरिने छ ।
स्वास्थ्यकर्मीहरुलाई आबश्यक विभिन्न बिषयगत तालिमहरुको ब्यवस्था मिलाइने छ ।
महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिको लागी अवलोकन भ्रमणमा लगिने छ । स्वयम्सेविकाहरुको लागि आवश्यक सामाग्राी व्यवस्थापन गरिनेछ ।
खोप कार्य संचालनलाई थप सुदृढ गर्न स्थायी रुपमा खोप केन्द्र निर्माण गरिनेछ । साथै पालिकालाई पूर्ण खोप पालिका घोषणाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
सुनौलौ हजार दिनका गर्भवती महिला, सुत्केरी तथा बालबालिकाहरुलाई मध्यनजर गरी बहुक्षेत्रीय पोषण कार्यक्रम विशेष प्याकेजको रुपमा संचालन गरिने छ ।
जेष्ठ नागरिकहरुलाई घरदैलो जाँच कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
पहुँच नपुगेको जनसमुदायका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ ।
लागु पदार्थ नियन्त्रणका लागि विद्यालय तथा समुदाय तहमा स्वास्थ्य सम्बन्धि प्रशिक्षणको व्यवस्था मिलाइने छ ।
सबै स्वास्थ्य संस्थाहरुमा क्रमशः बर्थिङ्ग सेन्टर संचालन गर्नुका साथै अधुरो रहेको बर्थिङ्ग सेन्टरहरुलाई पूर्णता दिइनेछ ।
आमा समुहको बैठकलाई थप सुढृढ बनाउन बैठकमा खाजा भत्ताको ब्यवस्था गरिने छ ।
स्वास्थ्य बिमा कार्यक्रमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आवश्यक औषधि, अन्य सामग्री तथा जनशक्तिको ब्यवस्थापन गरिनेछ ।
शारीरिक रुपले तन्दुस्त राख्न आगामी बर्षदेखि गाउँपालिकास्तरीय योग शिविर सञ्चालनको लागि आवश्यक ब्यवस्था मिलाइनेछ ।
ङ) खानेपानी तथा सरसफाई
पानीको गुणस्तर जाँचकोलागि स्थापना गरिएको ल्याबलाई निरन्तरता दिई सो को ब्यवस्थापनको लागि आवश्यक जनशक्ति तथा बजेट विनियोजन गरिने छ ।
दलित तथा विपन्न वस्तीहरुमा स्वच्छ खानेपानीको लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
पालिकामा रहेका सबै कार्यालयहरु, शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा निर्धारित मापदण्ड अनुसार खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चित गरिनेछ ।
खानेपानी र सरसफाइ अन्तर्गत निर्माण हुने सबै प्रकारका संरचनाहरु बालमैत्री, लैगिंकमैत्री, अपांगतामैत्री र वाताबरणमैत्री हुने सुनिश्चित गरिनेछ ।
आधारभुत खानेपानी सुविधा भएका वस्तीहरुलाई क्रमशः सुरक्षित खानेपानी समुदाय घोषणा गर्दै लगिनेछ ।
सबै सामुदायिक विद्यालयहरुमा खानेपानी तथा चर्पीको समुचित ब्यवस्थापन गरिनेछ ।
विद्यालय तथा समुदायमार्फत समुदायको सहभागितामा सरसफाई अभियान सञ्चालन गरिनेछ ।
च) विविध
क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविर सञ्चालन तथा पालिका स्तरीय टी २० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
युएन एजेन्सी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुसँगको सहयोग, सहकार्य तथा समन्वयमा कार्यक्रमहरु सञ्चालन गरिने छ ।
खाद्य पदार्थहरुको गुणस्तर र शुद्धता सुनिश्चित गर्न सम्बन्धित निकायहरु संग समन्वय गरी निरन्तर बजार अनुगमनको व्यवस्था मिलाइनेछ ।
खेलकुद क्षेत्रको विकासकालागि कार्यक्रम बनाई विभिन्न निकायहरुसँग सहकार्य एवम् समन्वयमा कार्यान्वयन गरिने छ ।
गरिब लक्षित विशेष कार्यक्रम सञ्चालन गरी गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
अपाङ्गता परिचय पत्र वितरण कार्यलाई थप ब्यवस्थित बनाउनुका साथै अपाङ्गता भएका ब्यक्तिहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा विद्यालयहरुलाई प्रविधिमैत्री बनाइनेछ ।
पत्रकारिता जगतको संस्थागत विकासका साथै क्षमता विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
मैथिली साहित्य परिषद्को संस्थागत विकास तथा भाषा संस्कृतिको विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
(३) पूर्वाधार विकास
भवन निर्माण आचार संहिता र भवन निर्माण मापदण्डलाई अनिवार्य रुपमा लागू गरिनेछ ।
गाउँपालिकाभित्र निर्माण गरिने सार्वजनिक संरचनाहरुहरु अपाङमैत्री, बालमैत्री तथा लैंगिकमैत्री बनाउन विशेष पहल गरिने छ ।
भौतिक पुर्वाधार सम्बन्धी हरेक योजनाहरुमा योजनाको प्रकृति अनुसार जनसहभागिता सुनिश्चित गरिनेछ ।
गुणस्तरीय निर्माण सुनिश्चित गर्न निर्माण कार्यको गुणस्तर परीक्षणलाई अनिवार्य गर्नुका साथै अनुगमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाइने छ ।
वडा कार्यालयहरुको अधुरो भवन निर्माण कार्यलाई पूरा गरी सेवामा सरल र सहज पहुँच स्थापित गरिनेछ ।
पूर्वाधार विकासका लागि आवश्यक्ता अनुसार सर्वेक्षण, डिजाइन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना दस्तावेज तयारी आदि कार्यको मापदण्ड निर्धारण गरी प्राविधिक अध्ययन गरिने छ । यस्तो कार्यमा प्रदेश, संघीय सरकार तथा विकास साझेदारसंग समन्वय गरी गाउँपालिका भित्रको उचित संयन्त्र निर्माण र सहयोग परिचालन गरिने छ ।
साझेदारीमा संचालित योजना तथा कार्यक्रमको लागि आवश्यक समपुरक कोषको ब्यवस्था गरिने छ । बहुबर्षिय योजनाहरुलाई निरन्तरता दिइने छ ।
(४) वन वातावरण तथा विपद व्यवस्थापन
सामुदायिक विद्यालयहरुमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने छ ।
नदि उकास क्षेत्र, सार्वजनिक तथा निजी जमिन, खोला किनार लगायत खाली जमीनमा वृक्षारोपण कार्यलाई वृहत रुपमा संचालन गरिनेछ ।
विपद्हरुको रोकथाम तथा न्यूनीकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम संचालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्था गरिने छ ।
स्थानीय आप्तकालिन कार्य सञ्चालन केन्द्रलाई अझ प्रभावकारी र सुविधा सम्पन्न बनाई मौसम पूर्वसूचना केन्द्रको रुपमा समेत विकास गरिने छ ।
जलवायु परिवर्तनलाई ध्यानमा राखी लागत साझेदारीमा आवश्यकता बमोजिम पोखरी खनाउने कार्यलाई प्रबर्द्धन गरिने छ ।
निजी जग्गामा वन क्षेत्रको विकास गर्न साझेदारी वन विकास कार्यक्रम संचालन गरिने छ ।
खाँडो खोला, जिता, महुली, दानर लगायतका विभिन्न नदी तथा खोलाहरुबाट बर्षेनी आउने बाढीबाट हुन सक्ने क्षतिबाट बच्न विभिन्न किसिमका सचेतनामुलक कार्यक्रम तथा अल्पीकरणका योजनाहरु सञ्चालन गरिनेछ ।
माध्यमिक तहका हरेक विद्यालयमा विपद् जोखिम न्युनीकरण शिक्षालाई लागू गर्न आवश्यक ब्यवस्था मिलाइने छ ।
(५) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
कर्मचारीहरुको पेशागत सुरक्षाका लागि स्थापना गरिएको कर्मचारी कल्याण कोषमा यथोचित रकम थप गरी कोष वृद्धि गरिनेछ ।
गाउँपालिकाको डिजिटल प्रोफाइल तयारीको लागि आवश्यक बजेटको ब्यवस्था गरिनेछ ।
पत्रकारिता क्षेत्रको विकासकालागि सरोकारवाला संस्थासँगको समन्वय तथा सहकार्यमा आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वन गरिनेछ ।
गाउँपालिका तथा वडाबा६ संचालन हुने विकास निर्माण कृयाकलाप तथा सेवा प्रवाहको वारेमा आम नागरिकलाई सुसुचित गर्न र नागरिकको चासो र सरोकारका विषयलाई प्रत्यक्ष सम्वाद गरी सम्वोधन गर्नका लागि चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिने छ ।
सबै वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाइ ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमका अभिलेखलाई डिजिटलाइजेशन गरी प्रविधियुक्त बनाइ अनलाइन गरिने छ ।
स्थानीय तहलाई प्राप्त न्यायिक अधिकारलाई संस्थागत गर्न तथा प्रभावकारी बनाउन मेलमिलापकर्ताको ब्यवस्था गरी दक्षता अभिवृद्धि गरिने छ ।
यस गाउँपालिका र गाउँपालिका भित्र पर्ने विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयको काम कारवाहीलाई चुस्त दुरुस्त र प्रभावकारी वनाउनका लागि विद्युतीय हाजिरीका साथै क्रमशः सि.सि टिभी क्यामेरा जडान गरिनेछ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण शुद्धिकरण-अद्यावधिक गर्न तोकिएको समय सिमाभित्र अन्य निकायहरुसँगको सहकार्यमा उपयुक्त स्वरुपको अभियान चलाइनेछ ।
उच्च प्रविधिको प्रयोग गर्नुपर्ने र ठूला लागत बाहेकका आयोजनाहरुको कार्यान्वयन उपभोक्ता समिति, सहकारी र सामुदायिक संस्थाहरु मार्फत कार्यान्वयन गरिनेछ ।
हरेक नागरिकको वैंक खातालाई अनिवार्य गरि वृद्धवृद्धा, एकल महिला तथा अपाङ्ग नागरिकको सामाजिक सुरक्षा भत्ता वैंक मार्फत व्यक्तिको खातामा सिधै पठाउने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
गाउँपालिकाको न्यायीक समितिमा दर्ता हुन आएका सवै विवादहरुलाई छिटो र छरितो छिनोफानो हुने ब्यवस्था मिलाइनेछ । यसका लागि सामुदायीक मेलमिलाप केन्द्रहरुलाई अधिकतम परिचालन गर्ने ब्यवस्था मिलाइनेछ ।
युवालाई सरकारी सेवामा प्रवेशका लागि आवश्यक लोकसेवा तयारी कक्षा सञ्चालन गरिनेछ ।
तिलाठीस्थित निर्मित वृद्धाश्रम सञ्चालन तथा ब्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
(च) वित्तीय व्यवस्थापन
सेवाग्राहीलाई सेवा प्रवाह गर्नु अघि गाउँपालिकाको आर्थिक ऐन २०८० मा तोकिएका कर, दस्तुर र सेवा शुल्क लिएर मात्र सेवा प्रवाह गरिनेछ । सेवा प्रवाह क्षेत्रसँग सम्बद्ध रकम नबुझाई सेवा दिएमा वा शुल्क दस्तुर छुट दिएमा सेवा प्रवाह गर्ने व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
प्रचलित ऐन, कानुन बमोजिम गाउँपालिकामा दर्ता भई संचालन हुनु पर्ने सबै प्रकारका व्यवसायलाई गाउँपालिकामा अनिवार्य रुपमा दर्ता गर्न र गराउन लगाई सो को अभिलेख व्यवस्थित बनाउँदै लगिनेछ । यसका लागि साउन महिनालाई ब्यवसाय दर्ता तथा नवीकरण महिनाको रुपमा अभियान संचालन गरिनेछ । व्यवसाय संचालन गरेको दर्ता प्रक्रियमा नआएकोलाई दर्ता प्रक्रियामा ल्याउनका लागि ३५ दिनको समयावधि दिई दर्ता शुल्कमा छुट दिइनेछ ,
गाउँपालिकाको स्वामित्वमा रहेका पोखरी तथा हाट बजारहरुको उपयुक्त व्यवस्थापन र विकास गरी आन्तरिक आम्दानीको एक प्रमुख श्रोतको रुपमा विकसित गर्दै लगिनेछ ।
गाउँपालिका कार्यालयमा लिइने विभिन्न प्रकारका सेवा शुल्क, कर, दस्तुर, पञ्जीकरण आदि लगायतका कार्य प्रविधिमैत्री प्रणाली अबलम्बन गरिने छ ।
विगतका वर्षहरुको बेरुजु, पेश्कीहरुको एकीकृत लगत खडा गरी त्यसको असुल उपर गर्दै फर्छ्यौट गर्ने/गराउने तर्फ आवश्यक पहल गरिनेछ ।’