क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुखको श्रीमान दादागिरी शैलीमा प्रस्तुत हुँदै आइरहेको एक महिलाले आरोप लगाएकी छिन् । राजविराज नगरपालिका-८की सरिता भगत यादवले सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै शम्भुनाथको कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीको श्रीमान श्रवण चौधरी दादागिरी शैलीमा प्रस्तुत हुँदै आफुसँग पटकपटक अभद्र व्यवहार गर्दै आएको आरोप लगाएकी छिन् ।
साविक गाविस रामपुर जमुवा-७ हाल शम्भुनाथ नगरपालिका-११ स्थित रहेको किता नम्बर २३८को २८ कठ्ठा जग्गामा सरिताले बनाएकी घर निर्माणको संरचना भत्काई चौधरीले उनीमाथि पटक पटक अभद्र व्यवहार गर्दै आएको सरिताले बताईन् ।
सरिताले आफ्नो आमा निलम देवी भगतको नाममा रहेको ती जग्गा मध्ये १० फिटको बाटो दिएपनि स्थानीय नारायण मण्डल, राजकुमार मण्डल र श्रवण चौधरी त्यहाँ अझै पनि भोग गर्न नदिने तथा अनाधिकृत बाटो निर्माण गराउने षड्यन्त्रमा लागेको आरोप लगाएकी छिन् ।
चौधरी नगरप्रमुखको श्रीमान भएकोले स्थानीय वडा अध्यक्ष राजकुमार साह(संजय)ले समेत चौधरीलाई नै सहयोग गर्दै आएको सरिताको आरोप छ ।
सरिताले स्थानीय विपक्षीहरुलाई जबरजस्ती नगरी कानुनी रुपमाआउन पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेकी छिन ।
सो विषयमा वडाध्यक्ष साहसँग बुझ्दा ‘सो जग्गामा दलित मिठु खंगलाई रेडक्रसका सभापति योगेन्द्र भगतले ऐलानी जग्गा भनेर घर बनाइदिएको थियोे । तर स्थानीय बुढापाखाको भनाइ ४०/५० बर्ष पहिले त्यहाँ रोड रहेकोले मिठु खंगको बुहारी घर भत्काएर आफ्नो जग्गामा गईन् ।’ उनले भने, ‘सोही जग्गामा खंगमाथि सरिताले मुदा गरि पिलर लगाएको कारणले पहिला रोड भएकोले रोड नै हुनुपर्ने हो ।’
सो विषयमा श्रवणले सरितानै मुख्य दोषी रहेको बताए । ‘सरिताले झुठो आरोप लगाइरहेकी छिन् ।’ उनले भने, ‘प्रहरीमा निवेदन दिँदा भएको सम्झौता प्रहरीसँग बुझ्नुस, समाज बिकासको लागि बाटोघाटो बनाउने भत्काउने समस्या स्थानीय बासिन्दा, वडाध्यक्ष, कावा मेयरको हो, मलाई मतलव भएन ।’
कार्यवाहक नगर प्रमुख चौधरीले उक्त विषयमा उहिले नै मिलापत्र भइसकेको बताइन् । ‘मेरो श्रीमानको सो विषयमा कुनै लेनादेना थिएन,छैन्, मिलापत्र समेत भइसकेको छ’ उनले भनिन्, ‘अहिले आएर त्यो विषय उठाउनुको कुनै अर्थ छैन् ।’