क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजमा ‘सप्तरी प्रिमियर लिग’को पाँचौ संस्करण सुरु भएको छ।
सप्तरी क्रिकेट संघको आयोजनामा आइतबारबाट सुरु भएको संस्करणको पहिलो खेलमा रुपनी राइडर्सले राजविराज द किंग्समाथि १५ रनको अन्तरले जित हात पारेको छ ।
किंग्सले टस जितेर पहिले ब्याटिङ गर्न निम्ताएको राइडर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रनको लक्ष्य तयार पारे । जवाफमा किंग्सले ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सके ।
किंग्सको लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए भने तृथ राज दासले ३३ तथा अभिषेक कार्कीले २९ रन बनाए । राइडर्सको लागि बलिंगमा फिर्दोश अन्सारीले ४ ओभरमा १९ रन दिँदै ३ विकेट हात पारे भने धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले १/१ विकेट लिए ।
राइडर्सको लागि ब्याटिङकमा फिर्दोश अन्सारीले ६१ रन, रोहन बिकले ३३ तथा विकास दासले २० रन बनाएका थिए । किंग्सको बलिंगमा बिक्रम सोबले २ विकेट, दिपेश सरदार, तृथ राज दास र सोहेल खानले १/१ विकेट लिएका थिए
‘प्लेयर अफ द म्याच’ राइडर्सका फिर्दोश अन्सारी घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा विहान ९ बजे रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्स बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
आइतबार भएको प्रतियोगिताको उद्घाटन समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परविन, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, नेपाल क्रिकेट संघका पूर्व कोषाध्यक्ष शैलेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवन कुमार देव लगायतको व्यक्तिहरूको उपस्थिति रहेको थियो।