क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । लोकसेवा आयोगले लिएको परीक्षामा अर्काको नाममा परीक्षा दिएको आरोपमा सप्तरीका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–११ का नायब सुब्बा ३० वर्षीय नारायण यादव र सोही ठाउँका सह–लेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार रहेका छन् ।
यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बामा कार्यरत छन् भने सह–लेखापाल सुतिहार कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा कार्यरत छन् । यादवलाई गत शुक्रवार दिउँसो राजविराजबाट पक्राउ गरेर रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन १६ गते भएको द्वितिय र तृतीय पत्रको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरि अनुसन्धानका थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।