क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराज नगरपालिकाले हटाएका ज्यालादारी कर्मचारीहरु आन्दोलित बनेका छन् ।
नगरपालिकाले गरेको ज्यालादारी कर्मचारी हटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यरत ज्यालादारीका कर्मचारीहरु निर्णय सच्याउन माग गर्दै आइतबारदेखि नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।
यता नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समिति राजविराज नगरपालिकाले समेत आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको ज्यालादारी कर्मचारी हटाउने निर्णयको भर्त्सना गरेको छ ।
समितिको अध्यक्ष कल्पना देवले हस्ताक्षर गरेको उक्त प्रेस विज्ञप्तिमा ज्यालादारी कर्मचारीलाई हटाइएपछि नगरपालिकाको दैनिक कामकाजमा असर परेको उल्लेख छ । विज्ञप्तिमा नगरपालिकालाई यस निर्णयमा पुनर्विचार गर्न भनिएको छ ।
जेठ २५ गते नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका कार्यालय अन्तर्गत मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत रहेकालाई जेठ २६ गतेदेखि काममा नलगाउन आदेश दिएको थियो ।
धर्नामा बसेका कर्मचारीहरुले नगरपालिकालाई यस निर्णयलाई सच्याउँदै आफुहरुलाई पुन: काममा लगाउन माग राखेका छन् ।