क्रान्ति केन्द्र सम्वाददाता
छुट्टाछुट्टै ठाउँबाट साढे २४ केजी गाँजा तथा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट ६ केजी गाँजासहित धादिङ निलकण्ठ नगरपालिका-७ सुनौला बजार बस्ने २२ वर्षीय कृष्ण बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना. ४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका-२ स्थित दस गजा(नोमेन्स ल्याण्ड)बाट १० केजी ५ सय ग्राम गाँजासहित सोही नगरपालिका-३ बस्ने ४० वर्षीय रामअधिन रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०६ एजेड ७९५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रबार दिउँसो मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी डेरा गरी बस्ने मनहरी गाउँपालिका-७ घर भई हाल सर्लाही बागमती गाउँपालिका-४ जिरायत बस्ने १८ वर्षीय एक किशोरलाई गाँजा ८ केजी , स्पासपेन १ हजार ३ सय ९० ट्याब्लेट, एनार्गन २ हजार ८ सय ५० ट्याब्लेट र ट्रामोल ८ सय ८० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले ती किशोरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।