क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराज नगरपालिकास्थित रहेको औषधि पसलहरुमा शुक्रबार साँझ नगरपालिकाको कार्यवाहक नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कर अधिकृतसहितको टोलीले अनुगमन गरेको छ ।
राजविराजको जनआन्दोलन चौकदेखि गजेन्द्र नारायण सिंह अस्पतालको गेटसम्म रहेको केही औषधि पसल र मेडिकल ल्याबहरुमा उनीहरूले अनुगमन गर्न पाएको हो ।
उक्त टोली एउटा औषधि पसलमा अनुगमन गर्न छिरेको खबर पाएसँगै उक्त रोडमा रहेको अधिकांश औषधि पसल बन्द गरेर पसले फरार भएको देखियो ।
खुलेका पसलहरुमा अनुगमनको क्रममा टोलीले कतै कर चुक्ता गर्न ढिलो भएको, त कुनै पसलमा औषधि विषय नै न पढेको मात्र ट्रेनिङ लिएको व्यक्ति औषधि बेचिरहेको पाइएको थियो । उनीहरूलाई कानुन अनुसार कारवाही गर्ने जनाइएको छ ।
यता पसल बन्द गरेर फरार भएकाहरुलाई स्पष्टीकरण सोध्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।