क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अगामी बजेटमा पनि आफ्ना समस्या र मागलाई सम्बोधन नगरिएको भन्दै आन्दोलनमा उत्रेका सामुदायिक विद्यालयका कर्मचारीहरूले शुक्रबार राजविराजमा र्याली प्रदर्शन गरेका छन् ।
सामुदायिक विद्यालयमा न्यून बेतनमा कार्यरत कर्मचारीहरुको पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वको विषय सरकारको निती तथा कार्यक्रममा समावेश गरिए तापनि बजेटमा नसमेटिएको भन्दै आइतबारदेखि शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीमा धर्नामा बसेका उनीहरूले आन्दोलनको पहिलो चरणको अन्तिम दिन शुक्रबार राजविराज नगरको परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा उनीहरुले श्रम शोषण गर्न पाइँदैन, संघीय शिक्षा ऐन जारी गर, नीति तथा कार्यक्रमको बुँदा नं १२७ लागु गर लगायतका नारा लगाएका थिए ।
न्युन वेतनमा काम गर्दै आएका विद्यालय कर्मचारीहरुलाई पनि तह अनुसारको पुर्ण सेवासुविधा सरकारले दिनुपर्ने उनीहरूको माग रहेको विद्यालय कर्मचारी राष्ट्रिय आन्दोलन परिचालन समितिको संयोजक बबन मिश्रले बताए ।
उनीहरूको जेठ २६ गतेसम्म जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने अनुसारको तय कार्यक्रम रहेको संयोजक मिश्रले बताए ।