क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारितामा नरहेका सदस्यलाई सदस्यता त्याग्न आग्रह गरेका छन । सोमबार महासंघ शाखा सप्तरीले सुचना जारी गर्दै जेठ २४ गते भित्र आफै सदस्यता त्याग्न पुन: आग्रह गर्दै त्याग्नेलाई शाखाद्वारा सम्मान गरिने पनि जनाइएको छ ।
‘पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धिकरण अभियान २०७९ शुरु गरेको हामी सबैलाई अवगत नै छ । यस सम्बन्धी सूचनाहरु केन्द्रीय कार्यालय र शाखाबाट निरन्तर जारी भईरहेकोको छ,’ सुचनामा लेखिएको छ, ‘उक्त अभियान अन्तर्गत पत्रकारिता क्षेत्रमा तीन वर्ष वा सो भन्दा धेरै समयदेखि क्रियाशिल नभएका, कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रहेका (प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध संघ–संस्था बाहेक), मिडिया हाउसको ब्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गरिरहेका, जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामती, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थान बाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारी, सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय(सहकारी, बैंक, फाईनान्स)मा पूर्णकालिन जुनसुकै पेशामा आबद्ध भएको वा मुख्य पेशा ब्यवसाय अन्य बनाएर कहिलेकाहिं मात्रै पत्रकारिता गरिरहेका, पत्रकारिता पेशा बाहेकको काममा ६ महिना बढी विदेशमा रहेकाको नवीकरण नगर्ने जनाईसकेको छ ।’
अन्य पेशामा गएका सदस्यज्यूहरुले स्वेच्छिक रूपमा सदस्यता परित्याग नगर्दा केन्द्रीय कार्यालयको अभिलेखबाटै (सदस्यता नामावलीबाट) नाम हटाउने जनाइसकेको हुँदा यसतर्फ गम्भीर बन्न महासंघ सप्तरीले आग्रह गरेको छ ।
‘पत्रकारितामा नरहेका महासंघका वर्तमान केन्द्रीय उपाध्यक्ष र दांगका जिल्ला अध्यक्षसहित मुलुकभरिका सयौं सदस्यहरुको नवीकरण नहुने सिफारिश भईसकेको अवस्थामा यसलाई गम्भिरतापूर्वक बुझ्न जरुरी छ ।’ जारी सुचनामा लेखिएको छ, ‘केन्द्रीय समितिले आउँदो जेठ २५ गतेसम्म २०८० सालको सदस्यता नवीकरण गराउन यसअघि नै सूचना जारी भईसकेको छ । तथापि पनि नवीकरण गराउनेतर्फ साथीहरूको सक्रियता नदेखिएकोले तोकिएको मितिमा आवश्यक कागजातसहित सदस्यता नवीकरण गराउन हुन विनम्र अनुरोध समेत गरेका छन ।’