प्रवेश कुमार बाबुल
राजविराज । सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई भारतको कुनौलीसँग जोड्ने मुख्य सडकखण्ड हो राजविराज-कुनौली सडकखण्ड ।
११ किलोमिटर लामो उक्त सडकलाई राज्यको ४१ करोड भन्दा बढी रुपैयाँ लगानीमा फराकिलो गरेर कालोपत्रे गरिएको छ । जिल्लाको प्रमुख भंसार कार्यालय तिलाठी कोइलाडी गाउँपालिका -१ बेल्हीस्थित राजविराज भंसार कार्यालय जाने प्रमुख बाटो पनि यही हो । यही बाटो भएर जिल्लाका तथा बाहिर बिभिन्न ठाउँका व्यक्तिहरु कुनौली ओहोरदोहर गर्ने गर्छन् ।
तर यी सब कुराको ख्याल नगरी उक्त सडकमै बालुवा गिट्टी थुपारेर राखिएको छ । तिलाठीको मेन गेट, विरपुर चौकको मोड र राजविराजको शिव बोर्डिङ स्कुल नजिक सडकमै बालुवा गिट्टी थुपारेर राखिएको देखिएको छ ।
बाटोमा थुपारिएको सामानले बाटोलाई साँघुरो बनाउँदा दुर्घटना समेत हुने गरेको स्थानीय बताउँछन् । बालुवा थुपारिएकोले गाडीहरु चिप्लेर दुर्घटना समेत हुने गरेको स्थानीयको भनाई छ ।
यद्यपी सरोकारवाला निकायको यसमा ध्यान पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन् । एक जना स्थानीयले भने ‘ठुलठुला अधिकारीहरु पनि यस बाटोबाट आवतजावत गर्छन् तर कसैको यसमा ध्यान पुग्न सकेको देखिँदैन ।’