क्रान्ति केन्द्र सम्वाददाता
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको भन्दै माओवादीले यहाँको सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीका एक सांसदले बताएका छन् ।
एक साताअघि काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमत भएका थिए ।
सोमबार मात्रै दुई मन्त्रालयमा दाबी गरेको माओवादीले मागे अनुसारको मन्त्रालय पाएन । सरकारमा बस्ने/नबस्ने भन्नेबारे छलफलका लागि लोसपा, जनमत र माओवादीको बैठक जारी छ ।
मुख्यमन्त्री यादवले मंगलबार मात्रै कांग्रेसबाट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसका मन्त्रीहरूको शपथ ग्रहण पनि यही कारण ढिला भएको छ ।