क्रान्ति केन्द्र सम्वाददाता
झुठा विवरण पेश गरी नेपाली नागरिकता दिएको आरोपमा सप्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको २६ जना मध्ये दुई जना अदालतमा हाजिर भएका छन् ।
पक्राउ पुर्जी जारी भएकामध्ये राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदितनारायण यादव र सर्जमिनमा बसेका एक जना बिहिबार अदालतमा हाजिर भएको जिल्ला अदालतका प्रवक्ता भरतमणि पोखरेलले जानकारी दिए । हाजिर भएपश्चात वडा अध्यक्षलाई एक लाख र सर्जमिनमा बस्नेलाई २५ हजार धरौटी लिएर तारेखमा छाडन् आदेश गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
२०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सूर्यनारायण यादवको छोरा सतिश यादव भन्दै नेपाली नागरिकता जारी भएको थियो ।
झुठा विवरण पेस गरी नागरिकता लिएको आरोपमा प्रहरीले सूर्यनारायण र सतिशलाई नियन्त्रणमा लिएपछि यो प्रकरण अगाडि बढेको हो ।
२८ जनामध्ये सूर्यनारायण र सतिश प्रहरी नियन्त्रणमा रहेकाले उनीहरुलाई २०८० जेठ १ गते बयान र थुनछेकका लागि अदालतमा उपस्थित गराइएको थियो । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले आरोपितमध्येका सूर्यनारायण र सतिशलाई एक/एक लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । दुबै जना धरौटी बुझाई तारेखमा छन् ।
सप्तरी जिल्ला अदालतमा २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता समबन्धी मुद्दाको अभियोगपत्रमा प्रतिवादी बनाइएकामध्ये २६ जना फरार भएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सो मुद्दामा फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय सञ्जिवकुमार साह र सुरज नेपालसहित २६ जना रहेका छन् ।