क्रान्ति केन्द्र सम्वाददाता
मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले खानेपानीको लागि एटीएम व्यवस्थाको पहल थालिएको बताएका छन् ।
आइतबार सप्तरीको राजविराज आएका उनले पत्रकारहरुसँग भेटघाट गर्ने क्रममा प्रदेशको ठाउँठाउँमा पानीको एटीएम मेसिन राखि शुद्ध खानेपानी पिउने व्यवस्था मिलाउन सुरुवात थालिएको बताए ।
‘मेसिनबाट प्रतिघण्टा एक हजार लिटर मिनिरल वाटर प्राप्त गर्न सकिन्छ ।,’ उनले भने ‘भर्खरै छिन्नमस्ता गाउँपालिका पुगेर आए, त्यहाँ पनि एटीएम प्लान्ट स्थापना गर्ने योजना छ ।’ उनले उक्त एटीएमबाट पानी पिउन कुनै पनि शुल्क नलाग्ने जानकारी दिए । ‘भारतमा पनि यस्तो व्यवस्था छ, तर त्यहाँ एटीएमबाट पानी पिउन शुल्क लाग्छ, यहाँ लाग्दैन् ।’ उनले भने ।
‘स्वच्छ खानेपानीको योजना थालेका छौं ।’ उनले भने ‘अहिले सुरुवाती अवस्थामा छौं, तीन बर्ष भित्र मधेश प्रदेशको बासिन्दाहरुले स्वच्छ पानी पिउनेमा प्रतिवद्ध छौं ।’
उनले प्रदेशमा हुनुपर्ने गतिमा काम नभएको स्वीकारे । ‘कर्मचारी अभावको कारण हुनुपर्ने गतिमा कामहरु हुन सकेन्,’ उनले भने ‘मेरै विभागमा मात्र तीनचार जना कर्मचारीले सबै काम गर्दैछ ।’
खानेपानीको अधुरो आयोजनाहरु पुरा कहिले हुने प्रश्नमा प्रदेशको पचास वटा आयोजनाहरुलाई यसबर्ष सुचारु गर्न उदेश्य लिएर अर्थ मन्त्रालयसँग ५० करोड रुपैयाँ माग गरेको उनले बताए ।